काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को ४१औँ वार्षिक साधारणसभाले शतप्रतिशत नगद लाभांश बाँढ्ने प्रस्ताव पारित गरेको छ।
शुक्रबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०७८/०७९ मा कायम नेप्सेको चुक्ता पूँजी एक अर्ब रुपैयाँको शतप्रतिशतका दरले हुन आउने रकम एक अर्ब रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनी सचिव मुराहरि पराजुलीले बताए । अघिल्लो आर्थिक वर्ष नेप्सेले ६० प्रतिशत नगद लाभांश र ४० प्रतिशत बोनस सेयर दिएको थियो ।
गत आर्थिक वर्ष २०७८/०७९ मा नेप्सेको खुद नाफा एक अर्ब १७ करोड ८१ लाख रुपैयाँ बराबर देखिएको छ। जुन अघिल्लो आर्थिक वर्षको भन्दा १६ दशमलव ४२ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा नेप्सेले एक अर्ब ४० करोड ९६ लाख रुपैयाँ बराबर खुद नाफा कमाएको थियो ।
नेप्सेमा सबैभन्दा धेरै सरकारको लगानी छ। नेप्सेमा नेपाल सरकारको ५८ दशमलव ६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको १४ दशमलव ६० प्रतिशत र कर्मचारी सञ्चय कोषको १० प्रतिशत लगानी रहेको छ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ६ दशमलव १४ प्रतिशत, लक्ष्मी बैंकको पाँच प्रतिशत, प्रभु बैंकको पाँच प्रतिशत र सेयर ब्रोकर कम्पनीको शून्य दशमलव ६० प्रतिशत लगानी रहेको छ ।
Comments are closed.