इतिहास राजाको गुणगान मात्र होइन: पोखरामा इतिहासका विद्यार्थीका लागि नौलो सिकाइ

ढिकीडाँडाको रमणीय परिवेशमा शोध-पत्र लेखन कार्यशाला, इतिहासको नवीन दृष्टिकोणमा जोड

पोखरा। “विभिन्न समयका शासक वर्ग, राजा महाराजको जीवनी र वंशावलीलाई मात्र प्रस्तुत गर्नु इतिहास अध्ययनमा ठूलो भूल हो,” यो निचोड हो पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागका प्राध्यापकहरूको ।

इतिहासका अध्येताहरू ज्ञानको ढोकालाई खुला राख्दै नयाँ कुरामा अद्यावधिक हुनुपर्नेमा जोड दिँदै विभागले सोमबार पोखरा नजिकैको रमणीय पर्यटकीय स्थल ढिकीडाँडामा स्नातकोत्तर तहका विद्यार्थीका लागि दुई दिवसीय शोध–पत्र (थेसिस) प्रस्ताव लेखन सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गर्‍यो । क्याम्पस परिसर बाहिर पहिलो पटक आयोजित यस नौलो प्रयासले विद्यार्थीहरूलाई उत्साहित र रोमाञ्चित बनाएको छ ।

गोष्ठीमा इतिहास विषय अध्ययनरत स्नातकोत्तर तह चौथो र तेस्रो सेमेष्टरका विद्यार्थीहरू सहभागी थिए । कार्यक्रममा बोल्दै निवर्तमान विभागीय प्रमुख बसन्त पराजुलीले मानव जीवन र समाजका सबै विधा समेट्ने एकमात्र विषय इतिहास भएकोले यसको महत्व अपार रहेको बताए ।

विभागीय प्रमुख सहप्राध्यापक नारायण ढकालले त्रिभुवन विश्वविद्यालयले इतिहास अध्ययन गर्न चाहने विद्यार्थीलाई प्राथमिकता दिएको र पृथ्वीनारायण क्याम्पसमा पनि पछिल्ला वर्षहरूमा विद्यार्थीको रुचि बढ्दै गएकोमा हर्ष व्यक्त गरे । उनले भने, “केही वर्ष अघिसम्म विद्यार्थी थिएनन्, अहिले क्रमशः यस विषयमा रुचि बढ्दै गएको छ । इतिहास विषयको पाठ्यक्रम पनि समयानुकुल परिमार्जन भइरहेको छ।”

शोध–पत्र प्रस्ताव लेखनका प्रमुख प्रशिक्षक सहप्राध्यापक अर्जुनबहादुर भण्डारीले ऐतिहासिक समयको अध्ययनले वर्तमानमा परेको प्रभावबारे शिक्षा दिई भविष्यमा अपनाउनुपर्ने सतर्कता सिकाउने विषय नै इतिहास भएको प्रस्ट्याए । “अहिले राजा महाराजाको महिमा मण्डन मात्रै इतिहास विषय होइन भन्ने धारणा बन्दै गएको छ,” भण्डारीले थपे, “विगतमा राजनीतिक व्यवस्थाहरू अनुकूल नहुँदा इतिहासको सीमा निर्धारण भएको थियो, अबको परिवेश फरक छ र सही शिक्षा मिल्दा विद्यार्थीको रुचि पनि बढेको छ ।”

सहप्राध्यापक डा. दीर्घमान गुरूङले विगतका अनुभवबाट सिक्दै आजको दिशा निर्धारण गरी भविष्यको गन्तव्य तय गर्ने विधा इतिहास भएको बताउँदै पाठ्यक्रमलाई समय सुहाउँदो बनाउनुपर्नेमा जोड दिए । उपप्राध्यापक तथा प्रशिक्षक चन्द्रकान्त पौडेलले इतिहास र संस्कृतिलाई महत्व दिने मुलुकले विकासमा फड्को मार्ने विचार राखे ।

दुई दिवसीय गोष्ठीमा प्रमुख प्रशिक्षक भण्डारीसहित सहप्राध्यापक डा. गुरुङ, उपप्राध्यापक पौडेल, लक्ष्मण श्रेष्ठ, तोयनारायण देवकोटा तथा पोखरा विश्वविद्यालयका एशोसियट प्रोफेसर कोमल मल्लले शोधप्रस्ताव लेखन विधिबारे प्रशिक्षण दिएका थिए ।

विभागीय प्रमुख नारायण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपप्राध्यापक चन्द्रकान्त पौडेलले स्वागत र तोयनारायण देवकोटाले सञ्चालन गरेका थिए । विद्यार्थीका तर्फबाट बोल्दै विपिन आचार्यले कार्यशाला अत्यन्तै उपयोगी भएको बताए । विभागीय प्रमुख ढकालले यस्ता गोष्ठीले विद्यार्थीलाई लेखनमा सहजता मिल्ने र विज्ञहरूको अनुभव बाँड्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.