बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

गलेश्वर (म्याग्दी) । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुन सक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न अनुरोध गरिएको हो ।

राति यात्रा गर्दा बाढीपहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । सडकखण्डको म्याग्दी क्षेत्रमा जोखिमपूर्ण स्थानमा सूचनाबोर्ड राखिने उनले जानकारी दिए । “रातको समयमा यात्रा निकै जोखिमपूर्ण छ, बाढीपहिरोग्रस्त क्षेत्रमा सूचना बोर्ड राख्दैछौँ, ट्राफिक प्रहरीलाईसमेत रुटको अवस्थाका बारेमा जानकारी गराउने गरी खटाइएको छ”, प्रजिअ ढकालले भने ।

सडकको अवस्था हेरेर यात्रा गर्न सहजीकरण गरिने प्रजिअ ढकालको भनाइ छ । मङ्गलबार रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले इको भ्यानमा क्षति पुगेको थियो भने तीन जना यात्रुलाई सकुसल उद्धार गरिएको थियो । सडकखण्ड अन्तर्गत म्याग्दी क्षेत्रमा करिब ६ स्थानमा सूचना बोर्ड राखिने छ भने उत्तरी म्याग्दी र मुस्ताङतर्फ साँझमा यात्रा गर्नेलाई पहिरोस्थलका बारेमा जानकारी दिनेगरी बेनी, गलेश्वर, भुरुङ तातोपानी र दाना क्षेत्रमा प्रहरी खटाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा ३५ साना ठूला पहिरा छन् । तीमध्ये वैसरी पहिरो, सिरुवारी पहिरो, गुइँठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ रहेका आयोजनाले जनाएको छ । गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभीर जोखिमपूर्ण पहिरोसहित सबै पहिरो व्यवस्थापनमा रु ७० करोडभन्दा बढी खर्च हुने बताइएको छ ।

यसैगरी जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडकखण्डमा बाढीपहिरोका कारण सवारी आवागमनमा पर्ने असर, सवारी चालक र यात्रुलाई विपद्बाट हुन सक्ने क्षती, वर्षाको समयमा हुनसक्ने सम्भावित यात्राको जोखिम र सुरक्षित रहन चालक र यात्रुले अवलम्बन गर्नुपर्ने सुरक्षाका उपाय साथै सडकको अवस्थाबारे जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न चेतनामूलक कार्यक्रम समेत गर्दै आएको छ । रासस

You might also like

Comments are closed.