ऐतिहासिक धारा पुनःनिर्माण

ललितपुर । ललितपुर महानगरपालिकाले जावालाखेलमा रहेको ऐतिहासिक धारा (जरुँहिटी) उत्खनन् गरेको छ । महानगरले सो स्थानमा उद्यान निर्माण गर्ने क्रममा उत्खनन् गर्दा भेटिएको धारालाई पुनःनिर्माण गरेर सञ्चालनमा समेत ल्याएको छ ।

महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा परम्परागत रुपमा सो धारा पुनःनिर्माण गरिएको हो । उक्त धारा ४ सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिए ।उनका अनुसार हाल ललितपुर महानगरपालिका र समाजका सहकार्यमा निर्मित धारामा आरओ प्रविधिद्वारा प्रशोधित पिउने पानी स्वचालित रुपमा सञ्चालित छ ।

ललितपुर–४ का वडाध्यक्ष सन्तोष खड्काले ललितपुर–४ जावलाखेल मोसिख्योमा उद्यान निर्माण गर्ने क्रममा पुरातात्विक महत्व बोकेको ऐतिहासिक धाराको ढुङ्गा भेटिएपछि उत्खनन् गरेर पुनः निर्माण गरिएको बताए । उनी भन्छन्, “उत्खनन् गर्ने क्रममा भेटिएको धारा (जरुँहिटी) ताम्राकार समाजसँग सम्बन्धित भएकाले आउने दिनहरुमा समाजले नै धाराको संरक्षण गर्नेछ ।”

महानगरले ऐतिहासिक सम्पदा संरक्षण र पुनःनिर्माण गर्नेक्रममा धारा जरुँहिटीलाई पुनःस्थापना गरेकोमा आफू खुसी रहेको ललितपुर महानगरपालिका–४ जावलाखेलका स्थानीय रामकुमार पन्तले बताए । उनी भन्छन्, “पुरानो सम्पदालाई संरक्षण गर्नु राम्रो हो । जरुँहिटी निर्माण गरेपछि बाटो हिँड्नलाई तिर्खाएकोबेला प्रशोधित शुद्ध पानी पिउन सहज भएको छ ।” रासस

You might also like

Comments are closed.