गण्डकी । पोखरा महानगरपालिका क्षेत्रमा ६० प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । पोखरामा करिब ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा ६० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
पोखराका विशेषगरी पामे, कुँडहर, सिसुवा, पटनेरी, मालमुल, गगनगौडा, अर्मला, सुरौदीलगायत फाँटक्षेत्रमा धानखेती हुने गरेको छ भने माझठाना, खुर्वादी, आँगेटारीलगायतका टारी खेतमा धानखेती गरिँदै आइएको छ । पोखरा आसपासका क्षेत्रमा झण्डै ४० प्रतिशत जेठोबुढो रोप्ने गरिएको र बाँकी विभिन्न उन्नतजातका धान रोप्ने गरिएको कडरियाले बताए ।
तथ्याङ्कानुसार पोखरामा वार्षिक ३९ हजार मेट्रिक टन धानको उत्पादन हुने गरेको छ । पछिल्ला वर्षमा धानखेती गरिने क्षेत्र घट्दो क्रममा रहेपनि उत्पादकत्व भने वृद्धि भएको जनाइएको छ । उनका अनुसार पोखराको बेगनास आसपास क्षेत्रमा रैथाने धानको जातको संरक्षणमा पनि किसानहरूले सक्रियता देखाएका छन् ।
पछिल्ला वर्षमा चैते धानतर्फ पनि किसान आकर्षित बनिरहेको जनाउँदै उनले यस वर्षको चैते धान भित्र्याउने क्रम चलिरहेको बताए । “पोखरामा चैते धान करिब १५ सय रोपनीमा लगाउने गरिएको छ”, उनले भने, “चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्दो क्रममा छ, दुई बाली धानका कारण उत्पादन समेत बढ्दा किसानलाई राहत मिलेको छ ।” रासस
Comments are closed.