६ महिनामा अन्नपूर्ण पदमार्गमा १० हजार बढी पर्यटक

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा ६ महिनामा १० हजार ६१३ विदेशी पर्यटक आएका छन् । यी पर्यटक सन् २०२४ जनवरीदेखि जुन महिनासम्म भ्रमणका लागि आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ ।
केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले उक्त पर्यटकमध्ये ६ हजार ४३५ पुरुष र ४ हजार १७८ महिला पर्यटक आएको जानकारी दिए । यीमध्ये सबैभन्दा बढी फ्रान्सबाट एक हजार ७४, इजरायलबाट ८३२, जर्मनबाट ७८४ पर्यटक आएका छन् । यस पदमार्गमा बर्खा लागेसँगै सुनसान भएपनि दैनिकजसो ४ देखि ५ जना विदेशी पर्यटक आइरहेको केन्द्रले जनाएको छ ।
सन् २०२३ मा २१ हजार २४७ र सन् २०२२ मा १५ हजार ९ सय विदेशी पर्यटक भ्रमण गर्न यहाँ आएका थिए । सन् २०२२ को तुलनामा सन् २०२३ मा ५ हजार ३४७ जना विदेशी पर्यटक बढी आएका छन् । केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६४७, सन् २०१८ मा २९ हजार ४८४, सन् २०१७ मा २१ हजार ६८ पर्यटक अन्नपूर्ण पदमार्गमा आएका थिए ।
सन् २०१७ बाट पर्यटक आगमनमा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणको पहिलो लहरसँगै पदमार्ग क्षेत्र प्रभावित भएको थियो । विस्तारै बढ्दो पर्यटक आगमनले यस क्षेत्रका सयौँ स्थानीयले रोजगारीसमेत पाएका छन् । रासस
You might also like

Comments are closed.