पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

काठमाडौं । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ ।

काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नगद राशीसहित राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान गरेका हुन् ।

विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा उनले पु¥याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय हिमालय टाइम्स दैनिकमा कार्यरत अधिकारी मिलाप मासिकको कार्यकारी सम्पादक र मिलाप फाउण्डेशनको अध्यक्ष हुन् । उनको केही समयअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ आएको छ ।

संगीतका २४ विधा र फिल्मका सात विधा गरि जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको समारोहमा गीतकार बिबी थापालाई नगद २५ हजार ५५५ सहित दीर्घ साधना सम्मान अर्पण गरिएको छ । यस्तै, ‘अर्थपथ डटकम’का सञ्चालक तथा सम्पादक विष्णु तारुकेलाई राष्ट्रिय पत्रकारिता सम्मान गरिएको छ । कार्यक्रममा कलाकार पवनप्रसाद खतिवडा, साहित्यकार सृजना अर्याल, समाजसेवी तथा कवि शोबित उप्रेती, गायक हिमाल श्रेष्ठ, कलाकार तथा टेलिसिरियलका निर्देशक नेत्र राउतलाई पनि सम्मान गरिएको हो ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले नेपाली कला र संस्कृतिको संरक्षणमा कलाकारहरूको महत्वपूर्ण भूमिका हुने बताए । ‘समाज रूपान्तरणमा पत्रकार र कलाकारको अतुलनीय भूमिका हुन्छ । नेपाली भाषा, धर्म र संस्कृति र पहिचान जोगाउनु आजको आवश्यता हो,’ पोखरेलले भने, ‘म सम्पूर्ण कलाकर्मी साथीहरूलाई भन्न चाहन्छु, ‘देशको रक्षा आज सबैभन्दा ठूलो कर्तव्य हो ।’

कार्यक्रम संयोजक सुरज पौडेलले ०७९ सालको अवार्ड अहिले गरिएको र अबको बर्षबाट अवार्ड कार्यक्रम निरन्तर गर्ने बताउँछन् । अवार्डको जुरीमा संगीतकार राजु सिंह, लोक गायक राजु परियार, पत्रकार अशेष अधिकारी, कलाकार चन्द्र लामा, गीतकार भीष्मराज फुलारा, मोडल उत्साह घिमिरे रहेको बताइएको छ ।

सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा २०७९ मा प्रदर्शनमा आएका चलचित्र र गीत संगीत समावेश गरेर सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको हो । प्रविन किराँती कार्यक्रम निर्देशक रहेको कार्यक्रमको सञ्चालन रघुनाथ सापकोटाले गरेका हुन् ।

You might also like

Comments are closed.