प्रतिभा माविमा क्रिकेट ‘प्राक्टिस नेट’ निर्माण, राष्ट्रिय क्रिकेट टोलीका प्रमुख ऐरीबाट उद्घाटन

पोखरा । प्रतिभा माध्यमिक विद्यालय पोखराले विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी दीपेन्द्र सिंह ऐरीले आइतवार प्राक्टिस नेटको उद्घाटन गरेका छन् । क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘प्राक्टिस नेट’ तयार पारिएको हो ।

विद्यालय परिसरभित्र क्रिकेटको मापदण्ड अनुसारको दुईवटा प्राक्टिस नेट बनाइएको प्राचार्य किरण सापकोटाले जानकारी दिए । ‘विद्यालयले नियमित पठनपाठनसँगै खेलकुदमा पनि उत्तिकै ध्यान दिएको छ, क्रिकेटको प्राक्टिस नेट तयार भएपछि विद्यार्थीले नियमित अभ्यास गर्न पाउनेछन,’ उनले भने । क्रिकेटमा रुची राख्ने विद्यार्थीले अभ्यास गर्न पाउनेछन् । विद्यालयले गत वर्ष पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेका थियो । त्यसपछि क्रिकेटमा बढी ध्यान दिएको छ ।

विद्यार्थीसँगको छलफलको क्रममा खेलाडी ऐरीले हरेक खेलमा आफु सकारात्मक भाव लिएर खेल्ने गरेको अनुभव बताए । ‘एउटा खेल सकिएपछि अर्काेको बारेमा सोँच्ने हो, हार वा जित भइसकेको खेलबारे सोँच्नुपर्दैन,’ उनले भने, ‘सकारात्मक सोँचेर खेल्न जाने हो, कुनैपनि खेलमा जितबारे सोँच्नुपर्छ, त्यसले सफलता पाउँछ ।’

आफु जहिल्यै अनुशासनमा रहेर खेल्ने गरेको र कुनैपनि खेल क्षेत्रमा लाग्ने हो भने तलैदेखि आशावादी हुनुपर्ने र सरकारले कुनैपनि खेललाई प्राथमिकता दिनुपर्ने उनी बताउँछन् । सरकार र निजी क्षेत्र सबैको साथ रह्यो भने कुनैपनि खेल क्षेत्र अघि बढ्न सक्छ, एउटा क्षेत्रको मात्र साथले नहुने उनले बताएका छन् ।

क्रिकेटर ऐरी ग्रेस इन्टरनेसनलका ब्रान्ड एम्बेसडर पनि हुन् । ग्रेस इन्टरनेशनल उच्च शिक्षाका लागि सहजीकरण गर्ने कन्सल्ट्यान्ट हो । कार्यक्रममा सहभागी ग्रेस इन्टरनेशनलका निर्देशक प्रदीपकुमार लम्सालले खेलाडी उत्पादनमा नियमितताको आवश्यक पर्ने बताए । विद्यालयस्तरमै नियमित गतिविधि हुने हो भने खेलले गति लिने उनी बताउँछन् । ग्रेस इन्टरनेशनलले विद्यालयलाई क्रिकेटका खेल सामाग्री पनि प्रदान गरेको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण पौडेलले क्रिकेट खेलले सिंगो नेपाल र नेपालीको गौरव बढाएको बताए । ‘हारजित आफ्नो ठाउँमा छ, तर नेपाली क्रिकेटरले अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम राखेका छन,’ उनले भने, ‘ठूलो लगानी गर्ने मुलुकका अघि नेपालको खेलकुद क्षेत्रमा लगानी कम भएपनि क्रिकेटले नेपाललाई विश्वमै चिनाएको छ ।’ क्रिकेट खेलमा लगानी गर्दा विद्यार्थीलाई खेलप्रति लाग्न प्रेरणा मिल्ने पनि उनले बताए ।

विद्यार्थीसँग विभिन्न क्षमता हुन्छन् । पछिल्लो समय क्रिकेटप्रति युवापुस्ताको रुची निकै नै बढेको छ । विद्यालयले सामाजिक उत्तरदायित्व निभाउने क्रममा यसअघि क्रिकेटर सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्ललाई सम्मान गरिसकेको छ ।

 

You might also like

Comments are closed.