रामपुर नगरपालिकामा ‘मेयर छात्रवृत्ति’, यो वर्ष १३२ विद्यार्थी लाभान्वित

सुशीला रेग्मी
रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको छ । ‘मेयर छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ । चार वर्षदेखि नगरमा उक्त कार्यक्रम सञ्चालन भएसँगै यसको प्रभावकारिता पनि बढ्दै गएको छ ।

नगरपालिकाले ल्याएको ‘मेयर छात्रवृत्ति’ कार्यक्रमबाट आर्थिक वर्ष २०८०/०८१ मा १३२ विद्यार्थी लाभान्वित भएका छन् । विपन्न, गरिब, असहाय बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रममार्फत छात्रवृत्ति रकम उपलब्ध गराउँदै आइरहेको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा नगरभित्रका २१ सामुदायिक विद्यालय र एउटा क्याम्पसका साधारण र उच्च प्राविधिक तथा विज्ञानतर्फ अध्ययनरत १३२ विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइएको हो । नगरपालिकाले रु ४ लाख ६६ हजार ६ सय छात्रवृत्तिस्वरुप वितरण गरेको जनाउँदै नगरप्रमुख थापाले छात्रवृत्ति पाउनेमा साधारणतर्फ १२४ र उच्च प्राविधिक तथा विज्ञानतर्फ ८ जना विद्यार्थी रहेको बताए ।

साधारणतर्फ बालहित, वीरेन्द्र, कालिका, अकला, मदरसा नुरुलहोदा अहले सुन्नत, विपी आदर्श र शारदाशरण प्राविका २/२ जना विद्यार्थी छनोट गरिएको थियो । रामपुर आधारभूत विद्यालयमा ४, दरैठाँटी माविमा १०, रामतुलसी नमूना माविमा १४ जना विद्यार्थी छनोट भएको नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए । उनका अनुसार गंगा, सीता, सरस्वती, कृष्णादेवी, आधारभूत, जनविकास, नवदुर्गा, कालिका र सीताराम माविबाट ६/६ जनाले रु १५ हजारका दरले छात्रवृत्ति पाएका छन् ।

उच्च प्राविधिक तथा विज्ञानतर्फ दरैठाँटी माविमा २ जनालाई रु ८ हजार, आधारभूत मावि र रामतुलसी नमूना माविमा ३/३ जनालाई छात्रवृत्तिस्वरुप रु १२/१२ हजार रकम वितरण गरिएको छ । साथै शहीद बहुमुखी क्याम्पस रामपुरमा भर्ना भएका २४ जना दलित समुदायका विद्यार्थीलाई भर्ना शुल्कबापत रु २ लाख १६ हजार ६ सय प्रदान गरिएको नगर शिक्षा अधिकृत काफ्लेले जानकारी दिए । उनका अनुसार नगरले विद्यार्थीको अवस्था र सङ्ख्याको अनुपातका आधारमा छात्रवृत्ति दिँदै आएको छ ।

यो कार्यक्रम नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरेको हो । ‘मेयर छात्रवृत्तिकोष’ अन्तर्गत सञ्चालित कार्यक्रमका लागि पहिलो वर्ष रु ५ लाख बजेट विनियोजन गरिएकामा रु २ लाख २४ हजार १८० रकम बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो । आ.व. २०७९/०८० मा नगरपालिकाले गंगा माविका ४ जनालाई रु ६२ हजार, रामपुर आधारभुत विद्यालयका ४ जनालाई रु ३४ हजार, आधारभुत माविका ५ जनालाई रु ५४ हजार, रामतुलसी नमुना माविका ६ जनालाई रु ८७ हजार, दरैठाँटी माविका ५ जनालाई रु १ लाख ३० हजार, नवदुर्गा माविका १० जनालाई रु ९० हजार, शहीद बहुमुखी क्याम्पस रामपुरका ३३ जना विद्यार्थीलाई रु २ लाख ९१ हजार ६५० गरी ६७ जना विद्यार्थीलाई जम्मा रु ७ लाख ४८ हजार ६५० बराबरको छात्रवृत्ति रकम वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाले रु ५ लाख ६५ हजार ६४० रकमबाट प्राविधि धार चलेका रामतुलसी नमुना माविका ७ जना, दरैठाँटी माविका ४ जना, गंगा माविका २ जना गरी १३ जना, क्याम्पसतर्फ शहीद बहुमुखी क्याम्पसका २७ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको थियो । यस्तै आर्थिक वर्ष ०७७/०७८ मा ‘मेयर छात्रवृत्ति कोष’ अन्तर्गत नगरपालिकाले पहिलो वर्ष रु ५ लाख रकम विनियोजन गरेकोमा रु २ लाख २४ हजार १८० रकम बराबरको छात्रवृत्ति प्रदान गरियो । जसअन्तर्गत रामतुलसी नमुना मावि, गंगा मावि, शहीद बहुमुखी क्याम्पस, नवदुर्गा मावि, कृष्णादेवी मावि, दरैठाँटी माविका विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको छ ।

नगरप्रमुख थापाले ‘मेयर छात्रवृत्ति’ कार्यक्रमको प्रभावकारिता नगरमा बढ्दै गएको बताए । आर्थिक समस्याका कारण पठनपाठन बीचमा छोड्न बाध्य भएका गरिब, विपन्न, असहाय बालबालिकालाई उक्त कार्यक्रमले सहयोग गरिरहेको उनको भनाइ छ । “छात्रवृत्ति रकम वितरणले विद्यार्थीमा उत्साह बढेको छ, शैक्षिक क्षेत्रमा नगरले प्राथमिकता दिएर काम गरिरहेको छ, आर्थिक अभावमा कोही पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुनदिने छैनौँ”, नगर प्रमुख थापाले भने । बालबालिका भविष्यको आधार हुन्, पूर्वाधार विकाससँगै बालबालिकाको शिक्षाका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको उनी बताउँछन् ।

असहाय बालबालिकाको संरक्षणका लागि नगरको तर्फबाट र अन्य सङ्घसंस्थासँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दै आइएको नगरप्रमुख थापाले जानकारी दिए । यहाँ विसं २०७४ पछि जन्मिएका बालबालिकालाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने नीति नगरपालिकाले लिएको उनको भनाइ छ । उनका अनुसार नगरले ३ जना बेसहारा बालबालिकालाई बालउद्धार कोषमार्फत रु २० हजार सहयोग गरिरहेको छ । रासस

You might also like

Comments are closed.