गण्डकी विश्वविद्यालयमा एमआइटी एआई कार्यक्रम सार्वजनिक

पोखरा । गण्डकी विश्वविद्यालयमा एमआइटी एआई कार्यक्रम सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रमको सार्वजनिक गरेको हो ।

अब एमआइटी एआई सम्बन्धी अध्ययन गर्न इच्छुक विद्यार्थीले सो अवसर गण्डकी विश्वविद्यालयमा पाउनेछन् । सेप्टेम्बर महिनाबाट एमआइटी एआईको कक्षा सुरु हुने जानकारी गराइएको छ । प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले एमआइटी एआई विषय समय सान्दर्भिक भएको बताए । उनले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताउँदै बजारले खोजेको शिक्षा उपलब्ध गराउन विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।

“प्रविधिमैत्री शिक्षा आजको आवश्यक्ता हो । बजारले खोजेको जस्तो शिक्षित जनशक्ति उत्पादनमा जोड गरौं ।“, उनले भने । मन्त्री थापाले रोजगारीका लागि विदेश जाने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न यस्ता कार्यक्रम सहायक सिद्ध हुने विश्वास लिएका छन् । एमआइटी एआई कार्यक्रमको सार्वजनिकिकरण सँगै प्रचार–प्रसारको समेत आवश्यकता रहेको मन्त्री थापा बताउँछन् । विश्वविद्यालयलाई समन्वयात्मक हिसाबले अगाडी बढाउनुपर्ने विषय उनले उठाएका छन् । गुणस्तरीय शिक्षालाई आत्मसात् गर्दै शैक्षिक आयाम र आयतनमा बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री थापाको भनाई छ ।

विश्वविद्यालयका डीन कपिल अधिकारीले एमआईटी एआईको आवश्यकता ठानेर नै कार्यक्रम सार्वजनिक गरिएको उल्लेख गरे । उनले विश्वविद्यालयले प्राविधिक विषयलाई प्राथमिकतामा राखेको बताए । एआईको अध्ययन गर्ने विद्यार्थी पछाडी नपर्ने र नेपालको अर्थतन्त्र सुधारमा एआईको भूमिका महत्वपूर्ण रहेको उनले बताए । सरकारी तथा गैरसरकारी क्षेत्रमा एआईको प्रयोगलाई बढाउने उद्धेश्यसहित विश्वविद्यालयले एमआईटी एआई कार्यक्रम सार्वजनिक गरेको हो । आइटीमा जति धेरै उत्पादन गरिएता पनि खपत हुनेछ । रजिस्ट्रार कैलाश तिमिल्सिनाले२०७६ सालबाट सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयले छोटो समयमा नै फड्को मारेको जानकारी दिए ।

पोखरा ३२ मा आफ्नै संरचना खडा गरी आइटी र फार्मेसीको क्षेत्रमा अध्ययन अध्यापन गराउदै आएको उनले बताए । विश्वविद्यालयले आबिष्कार केन्द्रको समेत स्थापना गरेको छ । गण्डकी विश्वविद्यालयमा ५२ जिल्लाका विद्यार्थीको आबद्धता छ । कुलपति गणेशमान गुरुङले आइटी पार्कलाई समेत अगाडि बढाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । ५७६ रोपनी जग्गा विश्वविद्यालयको नाममा प्राप्त भएको छ । विश्वविद्यालयले प्राप्त गर्ने अनुदानमा उदार हुन प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

You might also like

Comments are closed.