पाल्पा । सडक मर्मतका लागि सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड बन्द हुने भएको छ । राजमार्गको तिनाउँ गाउँपालिका वडा नं. ३ स्थित हिउँदे खोला सडकखण्डमा बाटो भासिएकाले सो स्थानमा मर्मतका लागि सडक बन्द गर्न लागिएको जनाइएको छ ।
आज साँझ ७ बजे देखि विहान ६ बजेसम्म अर्को व्यवस्था नभएसम्म पाल्पा–बुटवल सडकखण्डको हिउँदे खोलामा सवारी साधन आवतजावत बन्द गरेर सडक मर्मतको काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।
बिगत केही दिन देखिको बर्षाको कारण हिउँदे खोला सडक खण्डमा बाटो भासिएकाले हाल सो स्थानमा एकतर्फी रुपमा सवारी साधन सुचारु रहेको छ । सडक डिभिजन कार्यालयबाट सडक मर्मतको कार्य भइरहेको छ । सडक अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्नु हुन एवं अत्यावश्यकीय मालवाहक साधन बाहेक अन्य साधनहरु नचलाउन एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले अनुरोध गरेको छ ।
सडक जुनसुकै अवस्थामा पनि बन्द हुने जोखिम रहेको तथा प्राविधिकले समय–समयमा जाँच गरेर मात्र सवारी साधन चल्नुपर्ने अवस्था देखिएको छ । सम्भावित क्षति न्यूनिकरण गर्नका लागि रातको समयमा सडक बन्द गरेर काम गर्न लागिएको छ । सडक बन्द रहेका समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपर्ने अवस्थामा अनुमति लिएर मात्र चलाउनुहुन अनुरोध गरिएको छ ।
साथै ठूलो पानी परेको वा सडकमा थप क्षती भएको खण्डमा प्राविधिकको राय वमोजिम आकस्मिक रुपमा जुनसुकै समयमा आंशिक वा पूर्ण रुपमा सवारी साधनहरु आवतजावत गर्न बन्द गरिने प्रशासनले जनाएको छ ।






Comments are closed.