शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १४ को शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेणु दाहालले दुई जना सेवाग्राहीलाई टिकट प्रदान गरी उद्घाटन गरिन् । सेवाको औपचारिक उद्घाटन स्थानीय ७२ वर्षीय नन्दकला कुवँर र ७० वर्षीय मुक्तिबहादुर घिमिरेलाई बिशेषज्ञ सेवाको टिकट प्रदान गरिएको हो ।

महानगर प्रमुख दाहालले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विशेषज्ञ सेवा नियमित सञ्चालन गरिने बताइन् । जनताको स्वास्थ्य भन्दा ठूलो कुरा केही नहुने भन्दै उनले महानगरपालिकाले नगरबासीको स्वास्थ्यका लागि धेरै कार्यक्रकमहरु गर्दै आएको बताइन् । यस केन्द्रलाई नगर स्तरीय अस्पतालको रुपमा घोषणा गरेर सोही अनुसार काम अघि बढ्ने उल्लेख गरिन् ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले विशेषज्ञ सेवा गाउँमै पाएसँगै यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताए । महानगरको गाउँ–गाउँमा पुगेर सेवा दिने योजनाअनुसार विशेषज्ञ सेवा सुरु भएको उनी बताउँछन् । केन्द्रबाट हरेक हप्ताको सोमबार, बुधबार र बिहिबार विशेषज्ञ सेवा प्रदान गरिने छ । पुरानो मेडिकल कलेज र भरतपुर आँखा अस्पतालको समन्वयमा केन्द्रबाट हप्ताको ३ दिन विशेषज्ञ सेवा दिन लागिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सोमबार जनरल फिजिसियन, बुधबार प्रसुति तथा स्त्री रोग तथा रेडीयोलोजी सेवा र बिहिबार बाल रोग तथा नेत्र रोगको सेवा दिइने छ । २०२७ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा हाल मेडिकल अधिकृत ३ जना, पारामेडीक्स ९ जना, नर्सिङ् ८ जना, प्रयोगशालाकर्मी ४ जना, फार्मेसिस्ट २ जना, रेडियोग्राफर १ जनासहित ३२ जना कर्मचारी कार्यरत रहेका छन् ।

यस केन्द्रले गत आर्थिक वर्षमा ४९ हजार ३७५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको केन्द्रको तथ्याङमा उल्लेख छ । केन्द्रले दैनिक १६५ जना विरामी सेवा दिने गरेको छ ।

You might also like

Comments are closed.