पोखरा । पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमद्देवी एवं श्रीकृष्ण कथा प्रवचन शुरु भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले पर्यटकीय राजधानीमा आयोजना हुने कार्यक्रमले धार्मिक पर्यटनलाई टेवा पुग्ने बताए ।
धार्मिक अथवा आध्यात्मिक कार्यक्रमले सकारात्मक सोँचको विकासका लागि धार्मिक तथा अध्यात्मिक प्रवचन कार्यक्रमको उल्लेख्य भुमिका रहने बताउदै मन्त्री थापाले मन्दिर सञ्चालक समितिसंग साथमा रहेर सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । स्थानीय निकायसंग सहकार्य गरेर खाली जग्गाहरु प्राप्त गर्न सकेको खण्डमा योग र ध्यान शिविरका लागि मन्त्रालयले सहयोग गर्ने समेत मन्त्री थापाले जनाएका छन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरमणी पाण्डेले मानिसहरु भौतिक सुख शान्ति खोजिरहदा विभिन्न दुखमा परिरहेको बताउदै अध्यात्मिक कार्यक्रमले दुखलाई भुल्याउन सहयोग पु¥याउने बताउँछन् । पोखरा महानगरपालिका वडा नं ७ का अध्यक्ष राममोहन आचार्यले पोखरा ८ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिर पोखरा महानगरपालिका ७, ८, ९, ६, १७ नम्बर वडाका प्रमुख धार्मिकस्थल रहेको बताउदै मन्दिरको संरक्षणका लागि सबैले चासो दिनुपर्नेमा जोड दिदै कार्यक्रमको सहयोगार्थ एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले साउन महिनाभर आयोजना हुने धार्मिक कार्यक्रमले आध्यात्मिकतातर्फ मानिसलाई जागरुक गराउन सहयोग पुग्ने बताइन् । श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसीस्वरुप महाराज, बृन्दावनधाम डाँडाको नाकका विष्णु वशिष्ठ महाराज, पोखरा विश्वविद्यालयका डीन डाक्टर दयाराज ढकाल, निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक पुरुषोत्तम रेग्मी लगायतले आफ्ना धारणा राखेका छन् ।
श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहनप्रसाद ढकालको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रमको सञ्चालन समितिका सचिव लक्ष्मण बरालले गरेका हुन् । सो अवसरमा धर्मप्रचारिका जमुना माता र बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली, युवा परिषदका अध्यक्ष विजय बजगाइ लगायत समितिका पदाधिकारी, सदस्य लगायत सहभागी थिए ।
साउन १० गतेदेखि भदौ १० गतेसम्म आयोजना हुने एक महिने प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसीस्वरुप महाराजले प्रवचन दिनेछन् । वाद्यवादक बालकृष्ण आचार्य र सुजन बन्जराको टोलीले भजनकृतन गर्ने बताइएको छ । हरेक दिन ११ बजे देखि दिउँसो २ बजेसम्म श्रीमद्देवी एवं श्रीकृष्ण कथा प्रवचन हुने श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहनप्रसाद ढकालले जानकारी दिए ।






Comments are closed.