भारतले धान, चामल निर्यातमा कर लगाउँदा, आयात ह्वात्तै घट्यो

वीरगञ्ज (पर्सा) । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ ।

भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार ४४८ किलोग्राम धान नेपाल आयात भएको छ । आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा धान आयातको परिमाण ४४ दशमलव ६० प्रतिशतले घटेको हो ।

सरकारले प्राप्त गर्न राजस्व पनि ३९ दशमलव ८१ प्रतिशतले घटेको छ । सरकारले गत आवमा धान आयातवापत राजस्व भने ४० करोड ५३ लाख २६ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले भारत सरकारले गत आवमा धान, चामल निर्यातमा दिँदै आएको कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लगाएसँगै धान, चामलको आयातमा गिरावट आएको बताए । “वीरगञ्ज भन्सार कार्यालय हुँदै आयात हुने धान, चामलको परिमाण ठूलो मात्रामा घटिरहेको छ”, उनले भने, “धान, चामलको आयात मात्रै होइन । राजस्व सङ्कलनमा पनि प्रत्यक्ष असर पारिरहेको छ ।”

वीरगञ्ज भन्सार कार्यालय हुँदै आव २०७९/८० मा १३ अर्ब ७६ करोडको धान आयात गरिएको छ । सो आवमा ३८ करोड ५५ लाख ८८ हजार ३३९ किलोग्राम धान आयात गरिएको थियो । सो धान आयात हुँदा सरकारले राजस्ववापत ६७ करोड ३४ लाख ६३ हजार सङ्कलन गरेको थियो । आव २०८०र८१ मा वीरगञ्ज भन्सार कार्यालय हुँदै १ अर्ब ७२ करोड ६२ लाख ५३ हजार मूल्य बराबरको १ करोड ३२ लाख ४१ हजार ३७३ किलोग्राम चामल आयात भएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा यो भन्सार कार्यालय हुँदै आयात हुने चामलको परिमाणमा ६३ दशमलव ८० प्रतिशतले गिरावट आएको छ । कार्यालयले चामल आयातवापत प्राप्त गर्ने राजस्व पनि ४१ दशमलव ८ प्रतिशतले घटेको देखिन्छ । गत आवमा चामल आयात हुँदा राज्यले १९ करोड ८७ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० मा भने २ अर्ब ९५ करोड ९९ लाख ४४ हजार मूल्य पर्ने ३ करोड ६५ लाख ८२ हजार ६८३ किलोग्राम चामल आयात भएको थियो । सो चामल आयात हुँदा राज्यले २३ करोड ४३ लाख ८३ हजार राजस्व सङ्कलन गरेको थियो ।

गत आवमा धान र चामलको आयात घटे पनि खाद्यान्न मकैको आयात भने केही बढेको छ । आव २०८०/८१ म खाद्यान्न मकै भने ५ अर्ब ५९ करोड १९ लाख १ हजार मूल्य पर्ने १२ करोड ९९ लाख १८ हजार १७३ किलोग्राम मकै आयात भएको छ । सो मकै आयात हुँदा राज्यले २७ करोड ७४ लाख १० हजार राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० को तुलनामा आव २०८०/८१ खाद्यान्न मकैको आयात भने परिमाणमा ३ दशमलव ७२ प्रतिशतले बढेको छ । राजस्व रकम पनि अघिल्लो आवको तुलनामा १८ दशमलव ३६ प्रतिशतले बढेको छ । रासस

You might also like

Comments are closed.