भैँसीको व्यापारबाट वार्षिक रु ३५ लाखको कारोबार

घोराही (दाङ) । जिल्लाको गढवा गाउँपालिका–४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थालेको ३२ वर्ष भयो । उनले हरेक वर्ष घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित कटुवाखोला किनारमा बिक्रीका लागि भैँसी ल्याउने गर्छन् ।

हरेक वर्ष जेठदेखि कार्तिकसम्म यहाँ भैँसी बिक्री गर्न आउने गरेको मुसलमानले बताए । “लामो समयदेखि भैँसी पालनसँगै व्यापार पनि गर्दै आएको छु । अहिले वार्षिक रु ३० देखि ३५ लाखसम्म आम्दानी हुन्छ”, उनले भने, “घरमा पनि सधैँ दुई÷चारवटा भैँसी भइरहने भएकाले दूध, दही बिक्रीबाट पनि आर्यआर्जनमा सहयोग पुगेको छ ।”

देउखुरी क्षेत्रबाट आफूसहित अन्य व्यापारीले पनि यहाँ दुहुना भैँसी बिक्रीका लागि ल्याउने गरेका मुसलमानले जानकारी दिए । कटुवा खोलाबाट रु १ सय प्रतिलिटरका दरले दैनिक दूधसमेत बिक्री गर्ने गरेकोे उनी बताउँछन् । अन्य समयमा भन्दा असार, साउनमा बढी भैँसी बिक्री हुँदै आएको मुसलमानको भनाइ छ ।

“यो वर्ष १२ वटा भैँसी बिक्री भइसकेका छन्”, उनले भने, “यहाँ ल्याइएका भैँसी बिक्री गरेर सकियो भने फेरि देउखुरी लिन जाने गर्छौं । बुबाबाजेले गर्दै आएको भैँसीपालन पेसालाई निरन्तरता दिँदै आएका हौँ ।” मुसलमानले एउटा भैँसीको रु ६० हजारदेखि रु २ लाखसम्म पर्ने बताएका छन् । उनका अनुसार कटुवाखोला किनारमा भैँसी किन्न दाङका साथै रोल्पा, प्युठान, सल्ल्यान, रुकुमलगायत जिल्लाबाट ग्राहक आउने गरेका छन् ।

वार्षिक रु ३० देखि ३५ लाखसम्मको कारोबार हुने गरेको बताउँदै उनले सबै खर्च कटाएर रु ५ लाख बढी आम्दानी हुने गरेको जानकारी दिए । घरका अन्य सदस्यले घरपालुवा पशुको हेरचाह गर्ने मुसलमानको भनाइ छ । उनले ६ महिना घरबाट र ६ महिना घोराहीमा आएर भैँसी बेच्ने गर्ने गरेको सुनाए । दाङको गढवा गाउँपालिका–४ बाट मात्रै अहिले २० जनाबढी व्यापारी घोराही आएर भैँसीको व्यापार गर्छन् ।

मुसलमानले ‘रोशनी पशु खरिद बिक्री केन्द्र तथा पशु फार्म’ दर्ता गरी भैँसीको व्यवसायिक व्यापार गर्दै आएका छन् । लामो समयदेखि पशुपालन क्षेत्रमा लाग्नुभएका उनले आयआर्जन राम्रो हुँदै गएको बताए । देउखुरी क्षेत्रको राजपुर, राप्ती, गढवालगायत क्षेत्रका अधिकांश किसानले व्यवसायिक रुपमा भैँसीपालन गर्दै आएका छन् । रासस

lcci
You might also like

Comments are closed.