चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा वृद्धि

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०/८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । अघिल्लो आवमा यो सङ्ख्या २ लाख ९९ हजार ४१२ थियो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा २ लाख ७४ हजार २९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या २ लाख ७१ हजार ७३१ थियो । गत आवमा भरतपुर महानगर हुँदै २७ हजार ९५६ पर्यटक आएका थिए । आव २०७९/८० मा यो सङ्ख्या २३ हजार २५७ थियो ।

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीले चितवन भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रचारले निकुञ्जमा पर्यटक बढेका बताए । उनले बाह्य मुलुकबाट धार्मिक पर्यटक आउनेगरी धार्मिक कार्यक्रम, देवघाटधाम महोत्सव, जङ्गल सफारी मार्ट, म्याराथन आयोजना गरिने जानकारी दिएका छन् ।

भ्रमण वर्षका अवसरमा देवनगरमा सर्वसाधारणका लागि हेर्न मिल्ने गरी उद्धार गरिएका पाटेबाघ राखिएका छन् । दियालो बङ्गला पनि सर्वसाधारणका लागि खुला गरिएको छ । यो पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ । रासस

lcci
You might also like

Comments are closed.