नेप्से ३५ अंकले बढेर २७ सय नजिक

काठमाडौं । सोमबार करेक्सन देखिएको सेयर बजार मंगलबार पुनः बढेर २७ सय विन्दु नजिक पुगेको छ । आज नेप्से परिसूचक ३५.५५ अंकले बढेर २ हजार ६ सय ९६.६५ विन्दुमा कायम भएको हो । सेन्सेटिभ इन्डेक्स ०.६७ प्रतिशत र फ्लोट इन्डेक्स १.१७ प्रतिशतले बढेको छ ।

सोमबारको तुलनामा कारोबार रकममा गिरावट आए पनि आज १७ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबार कारोबार रकम झन्डै साढे १९ अर्बबराबर पुगेको थियो । मंगलबार ३२९ कम्पनीका ४ करोड ३ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा १७ अर्बभन्दा बढीको कारोबार भएको हो ।

नेप्सेका १३ उपसमूहमध्ये बैंक, म्युचल फन्ड, निर्जीवन बिमा र व्यापार उपसमूह १ प्रतिशतभन्दा कमले घट्दा बाँकी उपसमूह बढेका छन् । वित्त र होटेल तथा पर्यटन उपसमूहको सूचक करिब ६ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी जलविद्युत् र लगानी समूह पनि ३ प्रतिशतभन्दा धेरैले बढेका छन् ।

१८९ कम्पनीको सेयर मूल्य बढ्दा आज ७ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । प्रोग्रेसिफ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत्, नेपाल वेयरहाउजिङ कम्पनी, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल फाइनान्स र मध्यभोटेकोसीको सेयर मूल्यमा सर्किट लागेको हो। थप १० कम्पनीको सेयर मूल्य पनि आठदेखि नौ प्रतिशतभन्दा धेरैले बढेका छन् ।

आज ४७ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेकोमा एसियन हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ । गणपति लघुवित्त ६.११ र ग्लोबल आइएमई ब्यालेन्स्ड फन्डमा ४.७२ प्रतिशतले गिरावट आएको छ ।

lcci
You might also like

Comments are closed.