बीएडब्लुको ५ ढोका भएको ४ सिटर सिटी कार नेपालमा भित्रिदै, सिंगल चार्जमा २०५ कि.मि. रेन्ज दिने

काठमाडौं । नेपाली बजारमा अर्को सानो ईभी भित्रिने भएको छ । बेइजिङ अटोमोबाइल वर्क्स अर्थात बीएडब्लुको ५ ढोका भएको ४ सिटर सिटी कार नेपाली बजारमा उपलब्ध हुने भएको हो । एलआरआर मोटर्सले सो ईभी नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।

बीएडब्लुको ब्रम्बी सिटी कार नेपाली बजारमा उपलब्ध हुनेछ । ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको सो सिटी कारले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ । होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिने सो कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३५३२ एमएम, १४९८ एमएम र १६०५ एमएम रहेको छ । यसमा १५५–६५आर१३ साइजको टायर रहेको छ ।

सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ । सुरक्षाका अन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ । यसमा इन्टेलिजेन्ट टायर प्रेसर डिटेक्सन, फ्रन्ट र रियर पार्किङ राडार, ३६० प्यानोरामिक भ्यु र अन्य हाई–टेक सेफ्टी फङसन उपलब्ध छन् ।

क्याबिनमा अन्य फिचरका अतिरिक्त १०.५ इन्चको इन्फोटेनेमेन्ट स्क्रिन रहेको छ । बीएडब्लुको स्थापना सन् १९५१ मा भएको थियो । विशेषगरी चिनियाँ सैनिकका लागि अफरोड भेइकल उत्पादन गर्ने कम्पनीको रुपमा परिचित बीएडब्लुले सन् २०२० देखि ईभी उत्पादन थालेको थियो । हाल कम्पनीमा ८ हजार कर्मचारी र विश्वभर २ हजार सेल्स तथा सर्भिस आउटलेट छन् ।

विशेषगरी दैनिक प्रयोजनका लागि उपयुक्त यो कार सिटी राइडका लागि प्रयोग गर्न सकिन्छ । आगामी भदौको दोस्रो सातामा यो कार नेपाली बजारमा लन्च गर्ने तयारी भएको कम्पनीको भनाइ छ । सम्भवतः यसलाई नाडा अटो शोमा समेत अवलोकन गर्न सकिनेछ ।

You might also like

Comments are closed.