इलाममा ३४ करोड ८७ लाखमा ५९ कुलो निर्माण

फिक्कल (इलाम) । इलाममा आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड ८७ लाख १६ हजार ९३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन ।

वर्षौँदेखि अकासे खेतीमा निर्भर उनी यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग छन् । गजुरमुखीमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माणपछि योङहाङसहित सयौँ किसान यतिबेला खुसी भएका हुन् । उनको टोलमा रु ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउरो पाक्रुम्बा कुलो निर्माण भएको हो ।

माईजोगमाई गाउँपालिका–२ लप्सीबोटेका किसान कुमार राई पनि खुसी छन् । राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा रु ५० लाख ५५ हजार ८८३ लागतमा ५८ घरपरिवारका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी बजुरखोलामा कुलो निर्माण भएको छ । योङहाङ र राई प्रतिनिधि उदाहरण मात्र हुन् । इलामका विभिन्न पालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमबाट हजारौँ किसान लाभान्वित भएका छन् । इलाममा आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड ८७ लाख १६ हजार ९३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् ।

सूर्योदय नगरपालिकामा रु ४ करोड १९ लाख २६ हजार ६ सय ३४ को लागतमा १०, इलाम नगरपालिकामा रु ६ करोड ८६ लाख ५१ हजार ६४ को लागतमा ९, माङसेबुङ गाउँपालिकामा रु ३ करोड ४२ लाख ९४ हजार ६६४ को लागतमा ८, माई नगरपालिकामा रु ४ करोड ५ लाख ९८ हजार ४७५ को लागतमा ७ वटा सिँचाइ योजना सम्पन्न भएको साना सिँचाइ कार्यक्रम प्रमुख केशव लामाले जानकारी दिए ।

योजनाबाट इलामका १ हजार २९ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । सिँचाइ सुविधा विस्तारसँगै जिल्लाका २ हजार १४२ परिवार लाभान्वित भएका छन् । योजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिकाले २०÷२० प्रतिशत र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत लागत साझेदारी गरेको थियो । रासस

lcci
You might also like

Comments are closed.