पर्वतमा ढुसीको सङ्क्रमणले धानबाली नष्ट

पर्वत । पर्वतका कृषकले लगाएको धानबाली ढुसीको सङ्क्रमणले नष्ट हुन थालेको छ । धान रोपेको एक महिनामा ढुसी रोगका कारण धानका गाँजहरु मर्दै जान थालेपछि कृषक चिन्तित बनेका छन् ।

जिल्लाको फलेबास नगरपालिकाका सबैजसो वडा, कुश्मा, विहादी, महाशिलालगायत वडामा लगाइएको धानबालीमा जरा कुहिने रोग लागेको फलेबास नगरपालिकाकाको कृषि शाखा प्रमुख केदार सापकोटाले जानकारी दिए । ‘फुट रुट’ नामक उक्त रोग ढुसीका कारण लागेको र यसले कतिपय स्थानमा धानखेत रित्तिँदै जान थालेको उनले बताए । सापकोटाका अनुसार अहिले यो समस्या देशव्यापी रुपमा देखापरेको छ ।

“यो रोग ढुसी नामक फुजारिएम मोनिलिफर्मबाट लाग्ने गर्दछ”, उनले भने, “ब्याडमा कलिलो बिरुवादेखि खेतमा धान छिप्पिने बेलासम्म यो रोग देखापर्ने सम्भावना रहन्छ । यसलाई समयमै नियन्त्रण गर्न नसक्ने हो भने ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउँछ” । जिल्लास्थित कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सोविता सुवेदीले बीउको उपचार नगरिकन रोपाइँ गरिएकाले धानबालीमा ढुसी रोग फैलिएको बताएका छन् । धानले गाँंज राख्ने बेलामा रोग फैलिएकाले तत्काल उपचार गर्नुपर्ने उनको सुझाव छ ।

यो रोगबाट बाली जोगाउनका लागि रोगी बोट तत्कालै हटाउने, ‘कार्बेन्डाजिम–५०५’, ‘डब्लु पी–९’, ‘बेभिष्टिन–०’, लगायत ढुसीनाशक विषादी प्रयोग गर्नुपर्ने बाली संरक्षण अधिकृत सुवेदीले जानकारी दिए । ढुसीनाशक औषधि प्रयोग गर्दा दुई ग्राम प्रतिलिटर पानीका दरले एक रोपनी क्षेत्रफलमा २५ देखि ३० लिटरको घोल बनाएर १० दिनको फरकमा दुईदेखि तीन पटक छर्कनुपर्ने उनी बताउँछन् । सुवेदीका अनुसार अपह्न्न ४ बजेपछि विषादी छर्किंदा उपयुक्त हुन्छ ।

धमाधम धानका बोट मर्न थालेपछि खेत रित्तै हुन थालेको फलेबास–३ शङ्करपोखरीका कृषक शिव अधिकारीको गुनासो छ । उनले धानमा रोग लागेपछि आफूले लगाएको पोखरेली जेठो बुढो, एक्ले, पहेँलेलगायत बाली नष्ट भएको दुखेसो गरे । फलेवास–९ भँगरामा मात्रै ९० रोपनी क्षेत्रफलमा गरिएको पोखरेली जेठोबूढो धानखेतीमा ढुसी र फट्याङ्ग्राले नष्ट गरेको कृषक लोकप्रसाद काफ्लेले बताए । ठूलो लगानी गरेर धानखेती गरे पनि रोग लागेर नष्ट गरिदिएको उनी बताउँछन् ।

फलेबास नगरपालिकाको कृषि शाखाका अनुसार रैथाने जातका धान र खुमल–४ तथा जेठो बुढो धान लगाएका ठाउँमा ढुसीको सङ्क्रमण बढी देखिएको छ । विषादी प्रयोग गर्नुअघि रोगग्रस्त बोटहरु उखेलेर नष्ट गर्ने, पानीको निकासा गर्ने, नाइट्रोजनयुक्त मलको प्रयोग गर्न नहुने कार्यालयका कृषि शाखा प्रमुख सापकोटाको भनाई छ । नगर कृषि सञ्जाल फलेबासका संयोजक विनोद भुसालले पर्वतको धानबालीमा ठूलो समस्या आएको बताउँदै यसले किसानलाई निरुत्साहित बनाएको उल्लेख गरे ।

कतिपय स्थानमा गाँज राख्ने बेलाको धान मरेर खेत पूरै खाली हुन थालेको भन्दै तत्काल उपचार गर्नुपर्नेमा उनले जोड दिए । कृषि ज्ञान केन्द्र पर्वत र फलेबास नगरपालिकाको कृषि शाखाबाट निःशुल्क रुपमा कृषकलाई ढुसीनाशक औषधि उपलब्ध गराइएको संयोजक भुसालले जानकारी दिए । रासस

lcci
You might also like

Comments are closed.