स्याङ्जा । गल्याङ नगरपालिकाले किसानलाई अनुदान रकम वितरण गरेको छ । नगरपालिका–२ बटुवाका किसानलाई अनुदानस्वरुप रु १९ लाख ५७५ वितरण गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटरमा रु १५ अनुदान दिएको छ भने गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रमअन्तर्गत पनि अनुदान वितरण गरेको छ । उत्पादनका आधारमा प्रतिलिटर रु १५ का दरले ६६ किसानलाई रु ११ लाख ८६ हजार ५७५ र गाई पकेट लागत साझेदारी कार्यक्रमअन्तर्गत १७ किसानलाई जनही रु ७२ हजारका दरले रु सात लाख १४ हजार वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख भूपराज अधिकारीले अनुदान कार्यक्रमले नगरभित्रका किसानहरु आत्मनिर्भर बन्दै गएको बताए । उनले भने, “नगरपालिकाले सञ्चालन गरेको कृषिमा अनुदान कार्यक्रमले किसानलाई कृषि पेसाप्रति आकर्षित गरेको छ ।” यसबाट किसानहरु आत्मनिर्भर बन्दै गएको उनको भनाइ छ ।
नगरप्रमुख अधिकारीले कृषिको बजारीकरण हुन सकेमा किसानलाई अझै उत्साह थपिने भन्दै गल्याङमा उत्पादन भएको कृषि उपजको बिक्रीको प्रत्याभूति नगरपालिकाले लिएको जानकारी दिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले अनुदानको व्यवस्थाको सही सदुपयोग गरेर आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्ने कार्यमा किसानहरु उत्साहित भएर लागेकाले अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएको बताए ।
नगरपालिकाका पशु शाखा प्रमुख सुशील अर्यालले कृषक टीकाकुमारी रानाले दूधमा सबैभन्दा बढी अनुदान प्राप्त गरेको जानकारी दिए । अर्यालका अनुसार रानाले प्रतिलिटर रु १५ अनुदानबापत ६ महिनामा दुई लाख ४० हजार ८५९ रुपैयाँ ४० पैसा प्राप्त गरेका छन् । यसैगरी रानाले गाई पकेट लागत साझेदारी कार्यक्रमअन्तर्गत दुईवटा गाई खरिद गरेबापत रु ४२ हजार अनुदानसमेत प्राप्त गरेका छन् ।
नगरपालिकाको यो कार्यक्रमले किसानलाई थप उत्साहित बनाउनुका साथै बढ्दै गएको बेरोजगारीको समस्या समाधानमा सहयोग पुुगेको बताइएको छ ।
Comments are closed.