वन समूहको मुख्य आम्दानीको स्रोत खोटो सङ्कलन

घोराही (दाङ) । दाङमा खोटो सङ्कलन सामुदायिक वन समूहको मुख्य आम्दानीको स्रोत बनेको छ । जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले सल्लाको रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक लाखौँ आम्दानी गरेका छन् ।

वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहको संरक्षणसँगै गाउँको सामाजिक कार्यमा खर्च गरिएको छ । गाउँमा आवश्यक खानेपानी, विद्यालय भवन निर्माण, चौतारा निर्माणलगायतमा खर्च गरिएको बङ्लाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले बताए ।

आर्थिक अभावका कारण समुदायका सदस्यले सामाजिक कार्यमा पैसा उठाउन नसक्ने भएपछि वन समूहबाट सङ्कलन भएको पैसा खर्च गर्ने गरिएको उनले जानकारी दिए । उनी भन्छन्, “खोटो सङ्कलनबाट भएको आम्दानी वन समूहको संरक्षणसँगै गाउँको सामाजिक कार्यमा खर्च गर्ने गरेका छौँ ।” सल्लाको खोटो प्रतिकेजी रु १ हजार २ का दरले बिक्रि हुने गरेको छ ।

एउटा सल्लाको रुखबाट कम्तीमा ८–९ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिने स्थानीय बताउँछन् । वैशाख–जेठदेखि मङ्सिर–पुससम्म खोटो सङ्कलन हुने गरेको छ । चिसो मौसममा भने खोटो जमेर कम सङ्कलन हुने गरेकाले बन्द हुने गर्दछ ।

जिल्लामा सल्लाको खोटो सङ्कलनबाट ३२ लाख बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा २ लाख ७२ हजार १२ किलो सल्लाको खोटो बिक्री हुँदा ३२ लाख ७३ हजार २६९ रुपैया राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिए । उनका अनुसार सल्लाको खोटो बिक्रीबाट सङ्कलन भएको राजस्वमध्ये २७ लाख ९० हजार ९ सय वन समूह र ४ लाख ७२ हजार ३३९ रुपैँया प्रदेश सञ्चित कोषमा जम्मा भएको छ ।

गतवर्ष जिल्लामा ७८ हजार किलो सल्लाको खोटो निकासी हुँदा ९ लाख ३९ हजार २७ रुपैँया राजस्व सङ्कलन भएको थियो । खोटोबाट गत वर्षको तुलनामा यसवर्ष तेब्बर राजस्व सङ्कलन भएको छ । गतवर्ष सल्लाको खोटो सङ्कलन गर्ने वन क्षेत्र थपिएसँगै राजस्व वृद्धि भएको हो । अघिल्लो वर्ष १० वटा वन समूहबाट खोटो सङ्कलन भए पनि गत आवमा १९ वटा वन समूहबाट खोटो सङ्कलन भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ । रासस

You might also like

Comments are closed.