काठमाडौं । यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
आज नेप्से परिसूचक ८ दशमलव १८ अङ्कले घटेर २ हजार ९२३ दशमलव ४६ विन्दुमा कायम भएको हो । ३३२ कम्पनीको रु ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर २ लाख ४१ हजार ६६५ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६३३ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार बैंकिङ ० दशमलव ४५, वित्त १ दशमलव ५७, लगानी ० दशमलव ०८, व्यापार ० दशमलव ०६ र जीवन बीमा ० दशमलव ५४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक १ दशमलव ३६, होटल तथा पर्यटन २ दशमलव २५, जलविद्युत् ० दशमलव ३५ र उत्पादन तथा प्रशोधन समूह १ दशमलव ४० प्रतिशतले घटेको छ ।
त्यसैगरी, लघुवित्त १ दशमलव १३, म्युचुअल फन्ड ० दशमलव ०७, निर्जीवन बीमा १ दशमलव ०२ र अन्य समूहको उपसूचक ० दशमलव ७४ प्रतिशतले घटेको छ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, पिपल्स पावर लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै शेयर मूल्य ९ दशमलव ९३ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु ८१ करोड ९९ लाख ४० हजार ८२२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड–२ को २९ लाख ८६ हजार ९०७ कित्ता शेयर किनबेच भएको छ । रासस
Comments are closed.