काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको पर्यटन समितिले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गरेको छ ।
आईतबार मन्त्रीलाई बधाई तथा शुभकामना दिदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याईनुपर्नेमा जोड दिएको छ ।
हवाई दुर्घटना न्यूनीकरण, दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समय सम्बन्धमा पनि सुझाव दिएको छ । परिसंघकोतर्फबाट सफल कार्यकालको शुभकामना दिदै परिसंघका उपाध्यक्ष राजबहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागी नयाँ नीतिहरू ल्याउन जरुरी रहेको बताए ।
पर्यटन क्षेत्रका समस्याबारे जानकारी गराउदै उनले समाधानका उपाय समेत सुझाए । छलफलमा समिति सदस्य रवीचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयावधि १४ घण्टाबाट बढाएर १६ घण्टा बनाउन आग्रह गरेका छन् ।
पर्यटकीय मौसम भएकाले सो मितिदेखि राति १० बजेसम्म सञ्चालन हुने भनिएको समयावधि बढाएर राती १२ बजेसम्म गर्न उनले आग्रह गरे । सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको तर नेपालको हवाई टिकटको मुल्य धेरै भएकोले लक्ष्य अनुरुप पर्यटकहरु भित्र्याउन गाह्रो हुने उनी बताउँछन् । हवाई टिकटमा लगाईएको मुल्य अभिबृद्धी करलाई पुनरावलोकन गर्न जरुरी रहेको उनको भनाई छ ।
समिति सदस्य अशोक पोख्रेलले पर्यटन विकासका लागी नेपालले पहुँच बृद्धी गर्नु जरुरी रहेको बताए । जसका लागी नेपालबाट यूरोप जान आउनका लागी सहजीकरण गर्न नेपाललाई युरोपियन युनियनको सुरक्षा सुचीबाट हटाउन प्रभावकारी पहल आवश्यक रहेको बताएका छन् । राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउनुपर्ने, नेपाल पर्यटन बोर्डलाई यसको उद्देश्य अनुरूप अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागी कामको प्राथमिकता हेरेर अगाडी बढ्ने बताए । २०८३ भदौ सम्ममा पोखरा र भैरहवा एयरपोर्टको समस्या समाधान हुने गरी काम गरिरहेको र पर्यटन ऐन तयारी अवस्थामा रहेकाले चाडै आउने समेत उनले जानकारी गराए ।
नेपाल एयरलाइन्सलाई सवल बनाउने विषयमा थप छलफल तथा सल्लाह सुझाव लिदै अगाडि बढ्ने उनको भनाई छ । सो अवसरमा परिसंघ पर्यटन समिति सभापति पम्फा धमला, सदस्यहरु हिक्मत सिंह ऐर, तिलक लामा, दिपकराज जोशीलगायतले सुझावसहित बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
Comments are closed.