म्याग्दीका किसानलाई रु ९ करोड अनुदान

म्याग्दी । चालु आर्थिक वर्ष २०८०/८१ मा यहाँका किसानलाई अनुदान वितरण गर्न रु ९ करोड ६ लाख बजेट प्राप्त भएको छ ।

गण्डकी प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्रमार्फत रु ३ करोड ३३ लाख २५ हजार, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट रु २ करोड ५२ लाख २१ हजार र सङ्घीय सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइबाट रु ३ करोड २१ लाख ६८ हजार बजेट प्राप्त भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटबाट छिमेकी जिल्ला मुस्ताङ, पर्वत र बागलुङका किसानले पनि सुविधा पाउनेछन् ।  कूल लागतको ५० देखि ८५ प्रतिशत अनुदान प्राप्त हुने कार्यक्रमका लागि ३ वटै कार्यालयले सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेका छन् । खाद्यान्न, फलफूल, सागसब्जी, तेलहन, दलहन उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरी किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले चालु आवमा कृषि र पशुपालनमा बजेट केन्द्रित गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलले बताए ।

खायन आलु उत्पादन तथा प्रवद्र्धन कार्यक्रमलाई रु १ करोड २० लाख ६ हजार, फलफूल बाली विकास र रैथाने बाली प्रवद्र्धन आयोजनाका लागि रु २१/२१ लाख, तरकारीबाली प्रवद्र्धन आयोजनाका लागि रु १५ लाख ५० हजार, पोषण सुरक्षण कार्यक्रमका लागि रु २० लाख, सुन्तला जात फलफूल विकास आयोजनालाई रु ६७ लाख विनियोजन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा भरत रेग्मीले मासु, दूध, अण्डा उत्पादन वृद्धि गरी जिल्लालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने कार्यक्रम आएको बताए ।

पशुलाई पूर्ण खोप कार्यक्रमका लागि सबैभन्दा बढी रु ८० लाख बजेट प्राप्त भएको छ । यसैगरी बृहत्तर पशु विकास प्रवद्र्धन कार्यक्रमलाई रु २० लाख, दूध उत्पादक किसानलाई अनुदानका लागि रु १० लाख, कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका पाडापाडी हुर्काउने किसानका लागि रु ३ लाख, घुम्ती गोठ संरक्षणका लागि रु ४ लाख, बाँझो जग्गामा घाँसखेती गर्नेलाई रु ५ लाख, कृषि ऋणमा ब्याज अनुदान रु १ लाख, मत्स्य पोखरी निर्माण तथा क्षेत्र विस्तारका लागि रु ३ लाख बजेट प्राप्त भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले म्याग्दी, बागलुङ र पर्वतमा सञ्चालन भएको सुन्तला तथा मुस्ताङको स्याउ जोन क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि रु ६० लाख विनियोजन भएको जानकारी दिए । बङ्गुरपालक किसानका लागि नश्ल सुधार तथा उत्पादन वृद्धि, यान्त्रिकरण र मासु पसल सुधारका लागि रु १८ लाख, सुन्तला जोन कार्यक्रममार्फत सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि रु १६ लाख, कृषि उपज सङ्कलन केन्द्रलाई रु ८ लाख, बजारीकरणका लागि रु १५ लाख र यान्त्रिकरणका लागि रु १० लाख बजेट प्राप्त भएको छ ।

पूर्वाधार निर्माणसम्बन्धी कार्यक्रममा अधिकतम ८५ प्रतिशत, यन्त्र उपकरण, पाइप तथा ड्रम, बीउ, बेर्ना, विषादीलगायत सामग्री खरिदमा अधिकतम ५० प्रतिशत अनुदान सहयोग हुने कृषि अधिकृत बस्यालले बताए । रासस

lcci
You might also like

Comments are closed.