मकैको चटपटे बेचेर आत्मनिर्भर बन्दै

घोराही (दाङ) । मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्न सक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्नसकिन्छ भन्ने सबैलाई थाहा छैन । तर, दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकैखेती हुने भएकाले सारती अधिकारी मकै चटपटे बेच्दै आएकी छन् ।

राप्ती गाउँपालिका–३ मसुरिया निवासी अधिकारीले मकैको चटपटेबाट आम्दानी पनि प्रशस्त गर्दै आएको बताउँछिन् । सुरुमा आफूले पनि भुजा, चाउचाउको चनाचटपटे बनाउने गरेको तर पछि यसमा प्रयोग हुने मेसिन र तालिम गाउँपालिकाबाट निःशुल्क पाएपछि नयाँकाम सुरु गरेकोे बताइन् । “घरमा त्यसै बस्नुभन्दा व्यवसायमा जोडिएपछि दुई–चार पैसा आवश्यक परेका बेला अरुसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको छ”, उनले भनिन् ।

चटपटे बनाउन प्रयोग गरिने मेसिन निःशुल्क पाएपछि अझ सहज भएको छ । मेसिन मकै उसिन्ने, अचार बनाउनेलगायत काममा प्रयोग हुने गरेको छ । अन्यको भन्दा मकैको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला पनि उनमा बढ्दै गएको छ । २८ वर्षीया सारती सोही वडाको खुरुरिया पुलनिर विगत ४ वर्षदेखि चटपटेसँगै पानीपुरीको व्यवसाय पनि गर्दै आएकी छन् ।

यो व्यवसायबाट दैनिक रु १ हजारदेखि १५ सयसम्म आम्दानी हुने भएकाले मासिक रु २०–२५ हजार बढीको कारोबार गर्दै आएको उनी बताउँछिन् । “ मासिक रु १०–१२ हजार बचत हुने गरेको छ”, उनले भनिन् । अघिपछिको तुलनामा शनिबार अझ अलि बढी व्यापार हुने गरेको छ । रासस

lcci
You might also like

Comments are closed.