मुसहर समुदायद्वारा गृहमन्त्री लेखकलाई ज्ञापनपत्र

सिरहा । गृहमन्त्री रमेश लेखकलाई यहाँका दलित मुसहर समुदायले नागरिकतासम्बन्धी समस्या समाधानका लागि आज ज्ञापनपत्र बुझाएका छन् । लहान नगरपालिकाको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच ‘सवरी सङ्कल्प समाज’ नामक गैरसरकारी संस्थाका अगुवाले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उक्त ज्ञापनपत्रमा मुसहर समुदायलाई नेपालका आदिवासी घोषित गर्नुपर्ने, वङ्शजका आधारमा नेपाली नागरिकता दिनुपर्ने, मुसहर समुदायका भूमिहीन सुकुम्बासीलाई खेतीगोग्य जमिन र घरबासको व्यवस्था गर्नुपर्नेलगायतको पाँच बुँदे माग रहेको छ ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लेखकले मुसहर समुदायको समस्यालाई गम्भीरतापूर्वक अध्ययन गर्ने र समस्या समाधानका लागि पहल गर्ने बताए । उनी भन्छन्, “तपाईहरुको समस्याप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । यो तपाईहरुको मात्र नभएर राज्यकै समस्या भएकाले यसको समाधान गर्न उचित कदम चालिने छ ।”

अधिकारकर्मी अरुण सदायले ज्ञापनपत्र बुझाउँदै मुसहर समुदाय पछाडि पर्नुमा राज्यको विभेदकारी नीति र अन्यायपूर्ण सामाजिक आर्थिक संरचना नै मुख्य कारक रहेको बताएका छन् । साथै उनले दलित समुदायभित्रको अति सीमान्तकृत समुदायको रुपमा रहेको मुसहर जातिको सामाजिक, राजनितिक, आर्थिक, शैक्षिक उत्थान नभएसम्म समृद्ध राष्ट्रको कल्पना गर्न नसकिने बताए ।

मधेश प्रदेशमा मुसहर समुदायको सङ्ख्या २ लाख ४७ हजार ५५५ रहेको तथ्याङ्क छ । अधिकांश मुसहर समुदायका नागरिक नागरिकताविहीन छन् । रासस

You might also like

Comments are closed.