रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

रुकुम । रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा रु १५ लाख अनुदान पाएका छन् । गत आर्थिक वर्षमा ४७७ किसानले दूधमा रु १५ लाख अनुदान पाएका हुन् ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर रु ५ का दरले अनुदान वितरण गरिएको थियो । यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्काले जानकारी दिए । फागुनदेखि असारसम्मको अनुदान भने बजेट अभावका कारण वितरण गर्न नसकिएको उनले बताए ।

करिब ४ सय किसानले दूधमा अनुदान पाउन बाँकी रहेको उनले उल्लेख गरेका छन् । बजेट अभावका कारण किसानका निवेदन कार्यालयमा थन्किएको भन्दै उक्त अनुदान उपलब्ध गराउने सम्भावना नरहेको निमित्त प्रमुख खड्काले बताए ।

फागुनसम्ममा जिल्लाका ४ स्थानीय तहका ४७७ किसानले रु १५ लाख अनुदान पाएका उनले जानकारी दिए । खड्काका अनुसार मुसिकोट नगरपालिकाका ५६, त्रिवेणी गाउँपालिकाका ३३४, सानीभेरी गाउँपालिकाका ७१ र बाँफिकोट गाउँपालिकाका १६ किसानले पाएका छन् ।

कर्णाली प्रदेश सरकारले दूध उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन दुग्ध उच्पादक किसानलाई लक्षित गरी अनुदान दिने कार्यक्रम सञ्चालन गरेको हो । प्रदेशका सबै जिल्लाका दूध उत्पादक किसानले हरेक वर्ष अनुदान पाइरहेका छन् । रासस

You might also like

Comments are closed.