नेपाल लाइफको मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माद्वारा कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौं र नारायणघाट, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित कार्यक्रममा करिव ५ हजार भन्दा बढी एजेन्सी तथा एजेन्सी म्यानेजर लगायत सहभागी थिए ।

कार्यक्रमको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले पानसमा दीप प्रज्वलन गरेर गरेका छन् । कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी तथा पोलिसी सर्भिसिङ्ग प्रमुख सुनिता पोखरेल, प्रदेशका प्रादेशिक प्रमुखहरु, शाखा तथा उपशाखाका प्रमुखहरू, पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी लगायत उपस्थित रहेको बताइएको छ ।

२०८० असोज र वैशाख २०८१ को मासिक अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत आयोजना गरिएको मोटिभेसनल तालिममा भारतको दिल्लीबाट आएका प्रख्यात अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माले जीवन बीमा बजारीकरणका लागि चाहिने आवश्यक सीप सम्बन्धी जानकारी गराएका हुन् । मानिसको जीवनमा जीवन बीमा एक आधारभूत आवश्यकता भएपनि मानिसले यसको महत्व नबुझेका कारण बीमालाई बजारीकरण गर्न गाह्रो भएको र यस अवस्थामा अभिकर्ताले बीमाको महत्वमाथि प्रकाश पार्न सके बीमा बजारमा धेरै नै सम्भावना रहेको हुँदा चुनौतीलाई अवसरमा परिणत गर्दै अगाडि बढ्नका लागि उत्पे्ररणा प्रदान गर्ने बताएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले मासिक अभिकर्ता प्रोत्साहन योजनाबाट छनौट भएर कार्यक्रममा उपस्थित बीमा अभिकर्तालाई स्वागत गरेका हुन् । अभिकर्ताको क्षमताको विकास कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्तता प्रदान गर्ने हेतुले अन्तर्राष्ट्रिय प्रशिक्षकको उपस्थितिमा यस किसिमको भव्य र सभ्य कार्यक्रम आयोजना गरिएको बताए । यस कार्यक्रमले क्षमता अभिवृद्धि गरी जीवन बीमाको बजारीकरणका निम्ति चाहिने सीप ज्ञान हासिल गर्न सहयोग पुग्ने उनको भनाई छ ।

कार्यक्रममा कम्पनीले निर्धारण गरेको लक्ष्यलाई प्राप्त गर्दै नेपाल लाइफ ताराका लागि योग्य भएका ३१४ जना एजेन्सी तथा एजेन्सी म्यानेजरलाई सम्मान गरिएको छ । यसका साथसाथै कम्पनीले हरेक प्रदेशमा प्रथम, द्वितीय र तृतीय हुने एजेन्सी तथा एजेन्सी म्यानेजरलाई प्रमाण पत्र सहित सम्मान गरिएको हो ।

कार्यक्रममा कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेल, पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी, पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कार्यक्रममा सहभागीलाई धन्यवाद दिए ।

You might also like

Comments are closed.