पाण्डेलाई मरणोपरान्त टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड र उत्कृष्ट शिक्षक पुरस्कार वितरण

काठमाडौं । पर्यटन व्यवसायी स्वर्गीय श्यामबहादुर पाण्डेलाई मरणोपरान्त पिपि प्रसाई टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड, २०२४ प्रदान गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा सो अवार्ड श्यामबहादुरका छोरा प्रवीण पान्डेले ग्रहण गरे ।

पी. पी. प्रसाई फाउण्डेसनले स्थापना गरेको सो अवार्ड बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पुरस्कार प्रदान गरिन् । होटल संघ नेपालका पूर्वअध्यक्ष तथा सांग्रिला होटलका संस्थापक पाण्डे नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व हुन् ।

फाउण्डेसनले प्रत्येक वर्ष प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गर्दै आएको ‘उत्कृष्ट शिक्षक पुरस्कार, २०८१’ विभिन्न शिक्षकलाई प्रदान गरेको छ । जसमा कोशी प्रदेशबाट, फिक्कल माध्यमिक विद्यालयका मातृकाप्रसाद दाहाल, मधेस प्रदेशबाट जनता माध्यमिक विद्यालय, सिराहाका रामकृपाल महतो, बागमती प्रदेशबाट महेन्द्रग्राम माध्यमिक विद्यालयका अम्बिका धिताललाई प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।

साथै गण्डकी प्रदेशबाट माछापुच्छ्रे माध्यमिक विद्यालयका सन्तोष आचार्य, लुम्बिनी प्रदेशबाट कालिका मनविज्ञान माध्यमिक विद्यालय, बुटवलका युवराज कंडेल, कर्णाली प्रदेशबाट अमरज्योति माध्यामिक विद्यालय, सुर्खेतका अशोककुमार राई र सुदुरपश्चिम प्रदेशबाट सरस्वति माध्यमिक विद्यालयकी चन्द्रकला दवाडी प्रदान गरिएको छ । उनीहरुलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । साथै सम्मानित शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको छ ।

यसैगरी शिक्षा क्षेत्रमा विशिष्ट योगदान पु¥याएवापत १ लाख रुपैयाँ राशीको पुरस्कार राष्ट्रिय आधारभूत विद्यालयलाई प्रोत्साहान पुरस्कार प्रदान गरिएको छ । देशभरबाट आवेदन माग गरी शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकता प्रति उनीहरुको बुझाई, शिक्षाप्रति उनीहरुको प्रतिबद्धता, सिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरुको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिसलगायतका आधारमा शिक्षा विशेषज्ञ, पूर्वशिक्षक, पूर्वप्रशासक, शिक्षण क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तिको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिस गरिएको फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनले हरेक बर्ष नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिलाई राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्डले सम्मानित गर्दै आएको छ । विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेशामा आउन चाहनेलाई प्रोत्साहन गर्न स्वर्गीव पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो । यसलाई आगामी दिनमा अझ व्यापक र समावेशी बनाउँदै लैजाने पी. पी. प्रसाई फाउण्डेसनको योजना छ ।

शिक्षा सम्बन्धि पुरस्कारको निर्णायकमा घनन्जय अधिकारी, टिका भट्टराई, रोशना सुब्बा, रिजुता महर्जन रहेका थिए । लाइफटाइम अचिभमेन्ट अवार्डको छनौट पर्यटन सम्बन्धि सँस्थामा आवद्ध ब्यक्तिको समूहले गरेको सन्चारकर्मी एवं फाउन्डेसनका सचिब दिलभुषण पठकले बताए ।

नेपालको पर्यटन क्षेत्रका ‘पायोनियर’ व्यक्ति एवं नटराज टुर एण्ड ट्राभल्सका सँस्थापक प्रसाईंको पर्यटन प्रवर्द्धन र ग्रामीण क्षेत्रसम्म शिक्षाको विकासको सपनालाई आत्मसात् गर्दै २०६७ साल फागुन ६ गते पी. पी. प्रसाई फाउण्डेसनको गठन गरिएको हो । प्रसाईंको विसं २०५६ भदौ २० मा हवाई दुर्घटनामा परी निधन भएको थियो ।

You might also like

Comments are closed.