सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएकाबारे सरकारले अनुगमन गर्ने बताएका छन् । आज सामाजिक सञ्जाल फेसकुकमार्फत उनले सबै स्थानीय तहमा यस विषयमा अनुगमन गरिने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयमा कक्षा (६–१०) का विपन्न विद्यार्थीका लागि वार्षिक रु १८ र विज्ञान विषय अध्ययन गर्न वार्षिक रु २४ हजार रुपैयाँ अनुदान दिन सरकारले रु ६० करोड बजेट अनुदान दिइरहेको बताए ।

“दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक रु १ हजारदेखि रु ३५ सयसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको छ । गैरआवासीय छात्रवृत्तिअन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । यसका लागि रु ५० करोड रकम विनियोजन भएको छ”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

यसैगरी उनले शैक्षिक दृष्टिले पछि परेका समुदाय, अतिविकट हिमाली जिल्लाका विद्यार्थीलगायत ७ वटा लक्षित समूूहका ११ हजार ४ सय विद्यार्थीका लागि मासिक रु ५ हजारका दरले आवासीय छात्रवृत्ति प्रदान गरिएको समेत बताएका छन् ।

“उल्लेखित छात्रवृत्ति रकम प्रत्येक स्थानीय तहका प्रतिविद्यार्थी लागत हिसाब गरी सशर्त अनुदानमा वित्तीय हस्तान्तरण गरिएको छ । यससम्बन्धी कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइटमा राखिएको छ”, प्रधानमन्त्री ओलीले भनेका छन् । रासस

You might also like

Comments are closed.