प्रजापति समुदाय माटाका भाँडा बनाउन छाड्दै

बर्दघाट सुस्तापश्चिम (नवलपरासी) । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बसोबास रहेको प्रजापति समुदायले पछिल्लो समय माटाका भाँडा बनाउन छाडेको छ । दाउराको मूल्य बढेपछि प्रजापति समुदायले माटाका भाँडा दियो, गाग्री, घोलक, गमलालगायत बनाउन छाडेका हुन् ।

प्रजापति समुदाय माटाका भाँडा बनाउन छाडेर अन्य काममा लागेका पाल्हीनन्दन गाउँपालिका‐५ का वडाध्यक्ष दयाशङ्कर त्रिपाठीले बताए । पाल्हीनन्दनका अधिकांश प्रजापति समुदायले माटाका भाँडा बनाउने र बिक्री गर्ने कार्यलाई मुख्य व्यवसाय बनाएका थिए । पूजाआजामा बढी प्रयोग हुने भएपछि माटाका भाँडा बनाउने तथा ग्राहकको घरघरमा पुुर्याउने गर्दैआएका थिए । दाउराको मूल्य बढेपछि माटाका भाँडा पकाउन असहज भएको उनीहरुको भनाइ छ । घाटा बेहोर्नु परेको भन्दै अहिले उनीहरूले यसको व्यापार छाडेको वडाध्यक्ष त्रिपाठी बताउँछन् ।

विद्युुतीय बत्तीको प्रयोगले माटाका दियो र भाँडाको प्रयोगलाई विस्थापित गरेपछि उक्त काम छाडेर वैदेशिक रोजगार तथा अन्य काममा लाग्नुपरेको पाल्हीनन्दन‐५ का ७४ वर्षीय भिखन प्रजापतिले बताए । उनका अनुसार माटाको दियो तथा भाँडा पकाउने दाउराको मूल्य बढेपछि घाटा बेहोर्नु परेकाले स्थानीय माटाका भाँडा बनाउने काम छाडेर अरु काममा लागेका छन् ।

केही वर्ष पहिला पाल्हीनन्दन गाउँपालिकाले ५० प्रतिशत अनुुदानमा भाँडा बनाउने प्रजापति समुदायलाई ८ मेसिन वितरण गरेको थियो । दिपावली र छठ पूजामा बढीजसो माटाका दियो प्रयोग गर्ने चलन छ । अन्य बेला पनि पूजाआजा तथा घरायसी प्रयोजनका लागि यसको प्रयोग गरिन्छ ।

स्थानीय तहले माछापालनका लागि पोखरी ठेक्कामा दिएको र ठेकेदारले पोखरीमा पानी भरेपछि आफूहरूलाई माटो झिक्न नमिल्ने भएपछि प्रजापति समुदायलाई माटाका भाँडा बनाउन समस्या भएको छ । माटाका भाँडा बनाउन स्थानीय तहले केही प्रतिशत छुुटमा वन कार्यालयबाट दाउरा उपलब्ध गराए पनि यो प्रर्याप्त नभएको सो समुदायको गुनासो छ । रासस

You might also like

Comments are closed.