बागलुङका १३ सय घर बिजुलीविहीन

ढोरपाटन (बागलुङ) । पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका १ हजार ३१३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो ।

आयोजनाबाट उत्पादन बन्द भएसँगै सो बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायत ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिए । निरन्तर वर्षासँगै खसेको पहिरोले आयोजनाको नहरमा ठूलो क्षति गरेको उनले बताए ।

पहिरोले बगाएको नहर निर्माणका लागि कम्तीमा २० दिन लाग्ने र सञ्चालनमा आउन १ महिना लाग्ने प्रबन्धक पौडेलले बताएका छन् । वर्षा निरन्तर भएको हुँदा काम सुरु गर्न नसकिएको उनले बताए । विद्युत् आयोजनाको मुहान नजिकै पहिरो खसेको हुँदा काम गर्न कठिन हुने उनले जानकारी दिए । रासस

You might also like

Comments are closed.