नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर २ हजार ७०१ दशमलव ९० मा सिमित भएको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ दशमलव ६३ अङ्कले ओरालो लागेर ४७९ दशमलव ७२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ ।

कूल २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर रु १० अर्ब १२ करोड २४ लाख ८ हजार २४८ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

यस्तै, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर ९ दशमलव ९५ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ८ प्रतिशतले कमाएका छन् । थ्री स्टार हाइड्रोपावर १०, कुमारी इक्विटी फण्ड ८ दशमलव ०७, गुडविल फाइनान्स ६ दशमलव ०५, डोल्टी पावर कम्पनी ४ दशमलव ५४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले ४ दशमलव ४५ प्रतिशतले गुमाएका छन् । रासस

You might also like

Comments are closed.