अपाङ्गता भएकालाई घरमै परिचपत्र

गोरखा । सहिद लखन गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण तथा नवीकरण गरेको छ ।

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका सहजताका लागि चिकित्सकसहित कर्मचारी र जनप्रतिनिधि परिचालन गरी अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन् ।

“अपाङ्गता भएका कोही पनि व्यक्ति परिचत्रपत्र बनाउन नसकेर राज्यले प्रदान गर्दै आएको सेवासुविधाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य गाउँपालिकाको हो, पालिकाले चिकित्सक र आवश्यक जनशक्ति परिचालन गरेर अपाङ्गता भएका व्यक्तिका घरघरमा पुगेर सबै प्रक्रिया पूरा गरी परिचयपत्र वितरण गरेको हो” उनले भनिन् ।

परिचयपत्र वितरणका लागि गोरखा अस्पतालका ‘मेडिकल अफिसर’ सन्तोष सिटौलासहित गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठलगायत टोली अपाङ्गता भएका व्यक्तिको घरघरमा पुगेका थिए ।

“अपाङ्गता परिचयपत्र दिन ‘मेडिकल रिपोर्ट’ अनिवार्य हुन्छ, त्यसका लागि चिकित्सकसमेत घरमै पठाइएको हो”, उपाध्यक्ष तिवारीले भनिन् । पालिकाभित्रका २३३ जना अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गरिएको उनले बताइन् । जसमा परिचयपत्र नभएका थप ९ जनालाई नयाँ अपाङ्गता परिचयपत्र वितरण गरिएको छ भने २२४ जनाको अपाङ्गता परिचयपत्र नवीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।

नयाँ अपाङ्गता परिचयपत्र वितरण गरिएकाहरुमा वडा नम्बर २, ४, ५, ६, ८ र ९ का रहेको उनी बताउँछिन् । पालिकाले यही भदौ २० देखि २४ गतेसम्म घर तथा टोलटोलमा पुगेर परिचयपत्र वितरण तथा नवीकरणको काम सम्पन्न गरेको हो । घरमै परिचयपत्र नवीकरण तथा नयाँ परिचयपत्र प्राप्त गरेपछि लाभग्राही दङ्ग छन् । रासस

You might also like

Comments are closed.