नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अङ्कले उकालो लागेर २ हजार ६८८ दशमलव ३८ मा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलव ४० अङ्कले उकालो लागेर ४७८ दशमलव ४८ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा एउटा उपसमूहको शेयर मूल्य भने घटेको छ ।

कूल १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर रु ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६१२ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार विन नेपाल लघुवित्त, ग्रीन भेञ्चर्स लिमिटेड, इस्टन हाइड्रोपावर, रावा इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एशियन हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतले कमाएका छन् ।

थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्म्क सर्किट लागेको छ । सानिमा लार्ज क्याप फण्ड ८ दशमलव ४९, आरबिबी म्युचुअल फण्ड दोस्रो ४ दशमलव ०१, सनराइज फस्ट म्युचुअल फण्ड ३ दशमलव ७१ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले ३ दशमलव ६५ प्रतिशतले गुमाएका छन् । रासस

You might also like

Comments are closed.