तरकारी खेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

दोधारा चाँदनी (कञ्चनपुर) । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले ।

३ दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भभएकी छन् । उनले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाइरहेकी छन् । छोरी रविना चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत छन् ।

“हामीले तरकारीखेतीबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ,” उर्मिलाले भनिन्, “तरकारीखेती गर्न थालेको २०५२ सालदेखि हो ।” २०५२ सालमा एक कट्ठा जग्गामा तरकारीखेती गरेकी उनले तरकारीखेतीकै आम्दानीले २ वर्षपछि दुई कट्ठा जग्गा खरिद गरिन् । त्यसपछि आम्दानी गर्दै जग्गा थप्दै गरेर तरकारी खेती विस्तार गरेको उनको भनाइ छ । उनको मेहनतमा श्रीमान् रामबहादुरको ठूलो सहयोग छ । तरकारीखेतीसँगै स्थानीय लालपुर बजारमा उहाँका श्रीमान्ले किराना पसल सञ्चालन गरेकी छन् ।

उक्त पसलमा आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्ने गर्छिन् । “तरकारी र पसल गरेर हामीले जग्गा थप्दै गयौँ अहिले १५ कट्ठा जग्गा छ”, उर्मिलाले भनिन्, “अहिले १५ कट्ठा जग्गामा तरकारीखेती गरेका छौँ त्यसबाट सन्तोषजनक आम्दानी भइरहेको छ ।” उनले छोरी रविनालाई डाक्टर पढाउन हालसम्म रु ६० लाख खर्च भइसकेको बताउँछिन् । सबै खर्च तरकारीखेतीबाटै धानेको उनको भनाइ छ । उनले लहरे तरकारीबाटै सिजनमा रु २ लाख बचत हुने गरेको बताइन् ।

तरकारीखेती सुरु गरेको केही वर्षपछि महेन्द्रनगरको उदयदेव सहकारीले गाउँमै पुगेर उद्यम गरिरहेका महिलाहरुको समूह गठन ग¥यो । सहकारीले गठन गरेको तुलसी उदयदेव महिला केन्द्रमा उनी आबद्ध भइन् । सरकारीले उक्त समूहमा आबद्ध तरकारीखेती गरिरहेका महिलाहरुलाई निःशुल्क प्राविधिक सहयोग गरेपछि खेती गर्न सहयोग पुगेको उनको अनुभव छ ।

उनले सहकारीको सहयोगपछि तरकारी उत्पादनमा वृद्धि समेत भएको बताइन् । “हामीले परम्परागत रुपमा खेती गर्दै आएका थियो”, उनी भनिछन्, “सहकारीले धेरै ज्ञान दियो त्यसले उत्पादनमा फाइदा भयो ।” उक्त समुहमा १६ महिला आबद्ध छन ।

सहकारीले तराईको उत्पादनलाई पहाड र पहाडको उत्पादनलाई तराईसम्म ल्याउन शाखासमेत विस्तार गरेको उदयदेव सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दको भनाइ छ । रासस

You might also like

Comments are closed.