लक्ष्मी विद्यापदक वितरण

पोखरा । लक्ष्मी विद्या पदक वितरण कार्यक्रम पोखरामा शुक्रबार सम्पन्न भएको छ । लक्ष्मी ग्रुप प्रालिको स्थापना तथा पोखरा उद्योग वाणिज्य संघद्वारा सो पदक वितरण गरिएको हो ।

पोखरा उद्योग वाणिज्य संघको ७०आँै साधारण सभा तथा ३५औँ महाअधिवेशनको उद्घाटन सत्रमा एक समारोहका बीच पदक वितरण गरिएको छ । कास्की जिल्लामा स्थापित विभिन्न क्यम्पसबाट व्यवस्थापन सङ्काय अन्तर्गत स्नातकोत्तर तह एम.वि.एस. तथा स्नातक तह अन्तर्गत वि.वि.ए.र वि.वि.एस.मा उत्कृष्ट अंक हासिल गरी उत्तिर्ण हुने विद्यार्थीलाई सो पदक प्रदान गरिंदै आएको छ ।

यस पटक लक्ष्मी विद्यापदक – २०७९ बाट व्यवस्थापन सङ्काय अन्तर्गत स्नातकोत्तर तह (एम.वि.एस.) मा पृथ्वी नारायण क्याम्पसकी प्रविना लम्साल, स्नातक (वि.वि.ए) तर्फ ग्राण्डी ईनटरनेशनल कलेजकी आर्शा गुरुङ एवम् स्नातक (वि.वि.एस.) तर्फ जनप्रिय बहुमुखी क्याम्पसका रोशन गुरुङ सम्मानित भएका छन् ।

त्यसैगरी लक्ष्मी विद्यापदक – २०८० बाट स्नातकोत्तर तह (एम.वि.एस.) मा पृथ्वी नारायण क्याम्पसकी जुना देवकोटा, स्नातक (वि.वि.ए.) तर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी प्रविना सुवेदी एवम् स्नातक (वि.वि.एस.) तर्फ गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसकी अस्मिता बास्तोला सम्मानित भएका छन् ।

सम्मानित विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् लक्ष्मी ग्रुप प्रालिका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति एवम् लक्ष्मी ग्रुपका अर्का कार्यकारी निर्देशक सुनिल श्रेष्ठले माला, दोसल्ला, पुष्पगुच्छा, ताम्रपत्र, विद्यापदक एवम् नगद पुरस्कार जनही स्नातकोत्तर तहकालाई २५ हजार तथा स्नातक तहकालाई १५ हजारका दरले सम्मान गरेका छन् ।

कार्यक्रममा सम्मानितको तर्फबाट विद्यार्थी प्रविना लम्सालले यस किसिमको सम्मानले जिवनमा अघि बढ्न थप हौसला एवम् उर्जा मिलेको बताइन् । उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष वसन्त उदासले कार्यक्रम सञ्चालन गरेका हुन् । विद्या पदकबाट हालसम्म ६७ जना विद्यार्थी सम्मानित भइसकेको र उनीहरु देश तथा विदेशका विभिन्न प्रतिष्ठित संघ संस्था एवम् सरकारी तथा निजि क्षेत्रका प्रतिष्ठानमा कार्यरत छन् ।

२०५५ पुस २० गते पोखरा महानगरको दोस्रो नगर परिषदको उद्घाटन समारोहमा समाजसेवा, साहित्य, शिक्षा, संगीत, पत्रकारिता, उद्योग, पर्यटन, खेलकुदको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ९ जनालाई पोखरेली नवरत्नका रुपमा सम्मान गरिएको थियो ।

सोही सम्मान पाएका लक्ष्मी हाउसका बुद्घिबहादुर श्रेष्ठले सम्मानमा पाएको १० हजार रुपैयाँमा लक्ष्मी हाउसको तर्फबाट २ लाख १ हजार १११ रुपैयाँ थपेर अक्षयकोष स्थापनामार्फत लक्ष्मी विद्या पदकको स्थापना गरिएको जानकारी दिइएको छ ।

You might also like

Comments are closed.