नेप्से परिसूचक ५० अङ्कले घट्यो, कारोबार रकममा सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् १ दशमलव ८८ प्रतिशतले घटेर २ हजार ६३७ दशमलव ७९ को बिन्दुमा कायम भएको हो ।

लगातार ६ दिनसम्म कारोबार घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले बढेको थियो । तर बजार सम्हालिन नसक्दा आज पुनः घटेको छ ।

आज विभिन्न ३२४ कम्पनीका २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर १ लाख १९ हजार ७३९ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ बराबरको कारोबार भएको छ । यो कारोबार रकम पछिल्ला सात दिनमा सबैभन्दा उच्च हो ।

आजको कारोबारपछि वित्त समूह र होटल तथा पर्यटन समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ । वित्त समूह ३ दशमलव ५३ र होटल तथा पर्यटन समूह ३ दशमलव ६८ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ ० दशमलव ९३, विकास बैंक २ दशमलव ५१, जलविद्युत् १ दशमलव ४८, लगानी २ दशमलव ८० र जीवन बीमा समूह २ दशमलव ७४ प्रतिशतले घटेको छ ।

उत्पादन तथा प्रशोधन समूह १ दशमलव ७९, लघुवित्त १ दशमलव ८८, म्युचुअल फन्ड १ दशमलव ६१, निर्जीवन बीमा २ दशमलव १६, व्यापार ० दशमलव ९० र अन्य समूह २ दशमलव २३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

आज २१९ कम्पनीको शेयर मूल्य घट्दा २४ वटाको मात्रै बढेको छ । जसमध्ये रिभर फल्स पावर लिमिटेड, हिमालयन हाईड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु ६४ करोड ३८ लाख ६६ हजार ७८० बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिङ्गटी हाईड्रो इनर्जी लिमिटेडको ९ लाख ३४ हजार ५७८ कित्ता शेयर किनबेच भएको छ । रासस

You might also like

Comments are closed.