विधायन व्यवस्थापन समितिको सभापतिमा दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन् । सिंहदरबारस्थित समितिको कार्यालयमा आज भएको निर्वाचनमा नेकपा (एमाले)का सांसद दाहाल नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्ती राईलाई पछि पार्दै निर्वाचित भएकी हुन् ।

दाहालले ८ मत पाइन् भने राईले ७ मत पाइन् । दाहाललाई नेपाली कांग्रेसका ४, एमालेका ३ र जनता समाजवादी पार्टी नेपालका १ सांसदले मत दिए । यस्तै राईलाई नेकपा (माओवादी केन्द्र)का ५, एकीकृत समाजवादीका २ सांसदले मत दिएका हुन् ।

१५ सदस्यीय समितिमा पहिलो चरणमा दुवै उम्मेदवारले ७÷७ मत पाएका थिए । ध्वनीमतका आधारमा मत बराबर भएपछि समितिका ज्येष्ठ सदस्य एवं सभापति कृष्णप्रसाद सिटौलाले निर्णायक मत दिएका हुन् । सिटौलाको १ मत प्राप्त गरेपछि दाहाल सभापतिमा निर्वाचित भए ।

दाहालको प्रस्तावमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा एमालेका भगवती न्यौपाने तथा राईको प्रस्तावकमा एकीकृत समाजवादीका डा बेदुराम भुसाल र समर्थकमा माओवादी केन्द्रका सुरेश आले मगरले थिए ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचित सभापतिद्वयलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम छ । रासस

You might also like

Comments are closed.