नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे ७ अर्बमा खुम्चियो

काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५० अङ्कले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अङ्कले घटेको छ ।

नेप्से परिसूचक २ दशमलव १६ प्रतिशतको गिरावटपछि आज २ हजार ५८० दशमलव ७६ को बिन्दुमा झरेको छ । परिसूचक करिब २ महिनापछि २ हजार ५ सयको बिन्दुमा ओर्लिएको हो । आज विभिन्न ३१२ कम्पनीका १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर ९२ हजार ८१५ पटक खरिदबिक्री हुँदा रु ७ अर्ब ३६ करोड १९ लाख ८८ हजारको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह ५ दशमलव ६६ प्रतिशतले घटेको छ । बैंकिङ १ दशमलव ५९, विकास बैंक २ दशमलव ७२, होटल तथा पर्यटन २ दशमलव ४८, जलविद्युत् २ दशमलव २८, लगानी २ दशमलव ५३ र जीवन बीमा १ दशमलव ९१ प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन १ दशमलव ७१, लघुवित्त २ दशमलव ४३, म्युचुअल फन्ड १ दशमलव १७, निर्जीवन बीमा १ दशमलव ९१, व्यापार २ दशमलव ७६ र अन्य समूह २ दशमलव ३३ प्रतिशतले घटेको छ । आजको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै घट्नेमा गुडविल फाइनान्स लिमिटेडको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको रु ३१ करोड ११ लाख ४९ हजार ७३६ बराबरको कारोबार भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक प्रमोटर शेयर ५ लाख ७७ हजार ३८९ कित्ता खरिदबिक्री भएको छ । रासस

You might also like

Comments are closed.