टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न

काठमाडौं । टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न भएको छ । काठमाडौं, भक्तपुर, झापा, धरान, बुटवल, भैरहवा, वीरगन्ज, नेपालगन्ज, पोखरा र चितवनका ६० भन्दा बढी क्लबका सदस्य साइटेसनमा सहभागी भएका थिए ।

‘टुगेदर फर हन्ड्रेड’ भन्ने नाराका साथ टोस्टमास्टर्स इन्टरनेशनलको शतवार्षिकी मनाउँदै सन् २०२६ सम्ममा नेपालमा १ सय वटा टोस्टमास्टर्स क्लबको लक्ष्य हासिल गर्ने प्रतिबद्धता पनिसाइटेसनमा व्यक्त गरिएको छ ।

टोस्टमास्टर्स नेपालले हरेक वर्ष टोस्टमास्टरको सदस्य भन्दा बाहेकको एक व्यक्तिलाई उनको सञ्चार तथा नेतृत्व क्षमताका लागि ‘दि कम्युनिकेटर अवार्ड’ प्रदान गर्दै आएको छ । यस वर्षको ‘कम्युनिकेटर अवार्ड २०२४’ चर्चित मिडियाकर्मी भुषण दाहाललाई प्रदान गरिएको छ । कार्यक्रमका मुख्य वक्ता अन्तर्राष्ट्रिय मोटिभेसनल स्पीकर तथा हिन्दू पौराणिक कथाका विज्ञ अतुल सत्य कौशिक साइटेसनका मुख्य आकर्षण थिए ।

कार्यक्रमको सफलताबारे बोल्दै टोस्टमास्टर्स इन्टरनेशनलको डिस्ट्रिक्ट ४१ की डिस्ट्रिक्ट डाइरेक्टर मून प्रधान भन्छन्, “यस वर्षको साइटेसनले नेपालको टोस्टमास्टर्स समुदाय बीचको एकताको भावनालाई प्रस्तुत गरेको छ । हामी नेपालमा टोस्टमास्टर्सको अहिलेसम्मको प्रगति देखेर निकै गर्वित छौं । यस सफलतालाई निरन्तरता दिँदै सन् २०२६ सम्म १ सय वटा टोस्टमास्टर्स क्लब पु¥याउने लक्ष्य हामीले राखेका छौँ ।”

त्यसैगरी साइटेसनमा पाँचवटा डिभिजनहरूको ह्युमरस स्पिच, टोस्टमास्टर सीमा गोल्छाको स्ट्यान्ड–अप कमेडी प्रस्तुति, अन्य थुप्रै सदस्यको नृत्य र गायन लगायत मनोरञ्जनात्मक प्रस्तुतिको साथमा अन्य थुप्रै सामुहिक गतिविधि र पुरस्कारहरू समावेश थिए । गत भदौ २९ गते काठमाडौंको अलफ्टमा भएको सो साइटेसनमा देशभरका करिब ३ सय सदस्य उपस्थित रहेका थिए ।

यस वर्षको साइटेसनको सफलताले नेपालमा टोस्टमास्टर्सको बढ्दो चर्चा र आकर्षणलाई प्रस्ट बनाएको छ । यस साइटेसनले हरेक वर्षझैं नयाँ बेन्चमार्क सेट गर्दै आउँदो वर्षभर हुने टोस्टमास्टर्सका कार्यक्रमप्रतिको उत्सुकतालाई झनै बढाएको छ ।

You might also like

Comments are closed.