मुक्तिनाथ फाउन्डेसनको तेस्रो वाषिकोत्सवमा रक्तदान तथा निःशुल्क दन्त परीक्षण

काठमाडौं । मुक्तिनाथ फाउण्डेशनले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको यस संस्थाको वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ५५ पोका रगत सङ्कलन भएको छ भने ४८ जनाले निशुल्क दन्त परीक्षण सेवा लिएका छन् ।

रक्तदान कायक्रमलाई केन्द्रीय रक्तसञ्चार केन्द्रबाट प्राविधिक सहयोग प्राप्त भएको छ भने दन्त परीक्षण सेवाको लागि कान्तिपुर डेन्टल अस्पतालले प्राविधिक सहयोग गरेको हो ।

सोही अवसरमा संस्थाका अध्यक्ष भरतराज ढकालले १० हजार, सञ्चालक सिताराम काफ्लेले १० हजार तथा सञ्चालक रामप्रसाद पोख्रेलले १५ हजार संस्थालाई आफ्नो जन्मोत्सवको उपलक्ष्यमा आर्थिक सहयोग गरेका छन् ।

२०७८ असोज १ गते दर्ता भएको यस संस्थाले संस्थाका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ ।

You might also like

Comments are closed.