पोखरा र सौराहालाई स्तरीय बसबाट जोड्दै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले स्तरीय बस सेवा थप गर्ने अभियानलाई जारी राखेको छ । सार्वजनिक यातायातलाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित अगाडि बढेको कम्पनीले देशका विभिन्न शहरलाई यातायातको माध्यमबाट जोड्ने काम गरिरहेको छ ।

यसैक्रममा कम्पनीले पर्यटकीय शहर पोखराबाट चितवनको सौराहासम्म स्तरिय मिनी बस सेवा थप गर्ने भएको छ । आगामी साताबाट सेवा थप हुने अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए । ‘रोयल पोखरा’को नामबाट सेवा सञ्चालनमा आउने उनले बताए ।

सोफा सिटमा बसेर यात्रुले यात्रा गर्न सक्नेछन् । आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गर्न यी बसहरुले योगदान गर्ने उनले विश्वास व्यक्त गरे । बसमा एसी, ब्लाडकेट, फ्रुटी, बिस्कुट, लेज, पानी सहितका सुविधा उपलब्ध हुनेछ । कम्पनीले यो सेवालाई ‘भिआइपी’ स्तरीय रहने बताएको छ ।

‘पोखरा र सौराहा दुवै पर्यटकीय शहर हुन् । यी दुई शहरमा स्तरीय बस सेवा सञ्चालन हुँदा दुवै शहरले लाभ लिन सक्ने हामीले विश्वास गरेका छौं,’ केसीले भने, ‘आगामी दिनमा पनि स्तरीय बस सेवा सञ्चालनमा अभियानलाई निरन्तरता दिनेछौं ।’

कम्पनीले यही साताबाट स्याङ्जाको वालिङदेखि काठमाडौंका लागि पनि सोफासिटको सुविधासहितको स्तरीय बस सेवा सञ्चालन गरिसकेको छ । काठमाडौं पोखरामा कम्पनी अन्तर्गत दर्जनौं यस्ता बस सञ्चालन भइरहेका छन् ।

पोखरालाई देशको राजधानी काठमाडौंसम्म जोड्ने ‘पृथ्वी राजमार्ग’ को निर्माण अवस्थादेखि यातायातका साधनहरु सञ्चालन शुरुवातसँगै राजमार्गको नाममा २०२९ माघ २४ गते ‘पृथ्वी राजमार्ग बस सञ्चालक समिति’ को स्थापना भएको थियो । २०७६ जेठ १९ गते समिति रुपान्तरित भई पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.मा दर्ता भएको हो ।

समयको माग एवं सडक विस्तारको क्रम तथा लगानी कर्ताहरुको बढ्दो अभिरुचिसँगै आफ्नो सेवालाई विस्तार गर्न कम्पनी अग्रसर बनिरहेको अध्यक्ष केसी बताउँछन् । कम्पनीले प्रधान कार्यालय पोखरामा राखी गण्डकी प्रदेशलार्ई केन्द्रविन्दु बनाई देशको पूर्व मेचिदेखि पश्चिम महाकालिसम्मका मुख्य तथा सहायक राजमार्गका साथै ग्रामीण कच्ची सडकहरुमा लामो तथा छोटो दुरीका यातायात सेवा प्रदान गरिरहेको छ ।

वातानुकुलित एसी स्तरीय सेवा, माइक्रो बस, भिडियो तथा स्तरिय एवं मध्यम स्तरीय मिनी, द्रुत डांक सेवा, नन् स्टप सेवा लगायत दिवा तथा रात्री सेवा र ग्रामिण कच्ची सडकहरुका लागि स्थानीय सेवाहरु समय सापेक्ष बस तथा जिप सेवा कम्पनीले सञ्चालन गरिरहेको छ ।

lcci
You might also like

Comments are closed.