नेपालमै पहिलो पटक पर्यटन राजधानी पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुँदै

काठमाडौं । पर्यटनको राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुने भएको छ । बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गरी फेस्टिभलबारे जानकारी दिइएको छ । नेपालको पर्यटन राजधानी पोखरा र मुलुकको पर्यटन क्षेत्रको विश्वभर प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी क्रिष्टमस र अंग्रेजी नयाँ वर्षको अवसरमा फेस्टिभल हुन लागेको हो ।

बलुन नेपाल प्रालिको आयोजनामा डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म पोखराको लौरुकदेखि चंखपुरसम्मको ३ किलोमिटर क्षेत्रफलमा फेस्टिभल आयोजना हुनेछ । यसका लागि आवश्यक तयारी भइरहेको छ । फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने हाम्रो अपेक्षा रहेको बलुन नेपाल प्रालिका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए ।

उनका अनुसार यस फेस्टिभलमार्फत पोखरालाई साहसिक पर्यटनको नयाँ गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य छ । “कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिभल प्रभावकारी हुने विश्वास रहेको छ” उनले भने ।

पत्रकार सम्मेलनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न र पर्यटन प्रवद्र्धन गर्न फेस्टिबलले योगदान गर्ने बताए । उनले यस फेस्टिभलले पोखराको पर्यटन क्षेत्रम थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।फेस्टिभलमा नेपालसहित करिब ३० देशका व्यावसायिक कम्पनीलाई सहभागिता गराइनेछ ।

फेस्टिभल अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटले हट एयर बेलुनको उडान गर्नेछन् । एक हप्तासम्म चल्ने महोत्सवमा करिब ५ सय व्यावसायिक उडान हुनेछन् । जसमा करिब ३ हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिब ३ सय वटा गैर व्यावसायिक उडान हुनेछ । फेस्टिभलका अवसरमा पोखरामा मिनि बल्न सो पनि हुनेछ ।

सो अवधिभर ख्यातीप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहनेछ । फेस्टिभलमा एकै पटक धेरै बलुन उडान हुने हुँदा त्यसको रौनक छुट्टै हुनेछ । नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने साँस्कृतिक प्रदर्शनी पनि गरिनेछ । त्यसबाहेक फेस्टिभलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध हुनेछ ।

फेस्टिभल आयोजना गर्नका लागि कुल ६ करोड ८२ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । विसं २०७३ सालमा स्थापना भएको बलुन नेपाल प्रालिले २०७५ सालदेखि पोखरामा हट एयर बलुनको व्यावसायिक उडान गर्दै आएको छ । कम्पनीले गत फेब्रुअरीमा घाइल्याण्डमा सम्पन्न ’इन्टरनेशनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाइसकेको छ ।

You might also like

Comments are closed.