कुम्भेश्वर आधारभूत विद्यालयमा दूधपान तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

ललितपुर । नेपाल डेरी एसोसिएसनले कुम्भेश्वर आधारभूत विद्यालयमा दूधपान तथा जनचेतनामूलक कार्यक्रम गरेको छ ।

ललितपुर महानगरपालिका –११ कुम्भेश्वरमा अवस्थित यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दूध तथा दुग्धजन्य पदार्थ वितरण एवम् दूधसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

एसोसिएसनले विश्व स्कुल दूध दिवसको अवसर पारेर सप्ताहव्यापी रुपमा दूध दिवस कार्यक्रम मनाइरहेको छ । सोही अन्तर्गत यस विद्यालयमा पनि कार्यक्रम गरेको एसोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी गराए ।

jutta mela

एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमलाले दूध सबैले पिउनुपर्ने, पौष्टिक तत्वले भरिपूर्ण भएको हुनाले बिहान बेलुका विशेषगरी बालबालिकाले दुध पिउनुपर्ने बताएका छन् । एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले दूध पूर्ण पौष्टिक आहार भएको बताउँदै सबै विद्यार्थीलाई अनिवार्य दूध तथा दुग्ध पदार्थ सेवन गर्दा निरोगी बन्न सहयोग पुग्ने बताए ।

दूधबाट बनेका परिकार, दूधको स्रोत, बजारीकरण, उत्पादन, प्रशोधनदेखि उपभोक्तासम्म पुग्ने क्रममा गोठदेखि ओठसम्मको तरिका सबैले बुझ्नुपर्ने एसोसिएसनका केन्द्रिय सदस्य रमेश सन्जेल बताउँछन् । विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ वितरण, जनचेतनामूलक कार्यक्रम गरेकामा प्रधानाध्यापक करुणा खड्गीले एसोसिएसनलाई धन्यवाद दिए ।

नेपाल डेरी एसोसिएसनले गत असोज ३ गतेदेखि विभिन्न शैक्षिक संस्थामा पुगेर विश्व स्कुल दूध दिवस सप्ताहव्यापी रुपमा मनाइरहेको छ । आउँदो असोज ९ गते एक समारोहका साथ विश्व स्कुल दूध दिवस मनाउने कार्यक्रम तय भएको एसोसिएसनले जनाएको छ ।

यस वर्ष विश्वमा २४औं र नेपालमा १०औं विश्व स्कुल दूध दिवस ‘नियमित दूध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन’ भन्ने नारासहित भव्यताका साथ मनाइदैछ ।

You might also like

Comments are closed.