बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण आयोजनाहरुको विद्युत् गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो ।

हाल ती आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुनसक्ने आँकलन गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको माथिल्लो तामाकोशीको बाँध स्थल तथा बालुवा थिग्रयाउने पोखरीमा क्षति पुगेको छ ।

सो आयोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र अन्य कामदार गरी चार जना बेपत्ता भएको प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए । आयोजना सञ्चालनका लागि तामाकोशी पाँचौको सहयोग लिन लागिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट विद्युत् उत्पादन बन्द हुँदा बिजुली आयात गर्नु परेको जनाइएको छ ।

बाढी पहिरोका कारण विद्युत् उत्पादन केन्द्रमा क्षति पुग्दा बिजुली प्रवाहमा समेत समस्या भएको छ । वैकल्पिक व्यवस्था गरी बिजुली काटिएका स्थानमा उपलब्ध गराइएको र केही स्थानमा भने अझै मर्मत जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका बाढीपहिरोका अनुसार देशभर ९८० मेगावाट घण्टा बराबरको बिजुली आपूर्तिमा अवरोध छ ।

इप्पानका अनुसार मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत् आयोजनाको ‘पावर हाउस’ पूर्णरुपमा डुबेको छ । खानी खोला हाइड्रोपावर, माण्डु हाइड्रोपावरलगायतका आयोजनाले बाढीका कारण विद्युत् उत्पादन बन्द भएको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई समेत गराएका छन् । बाढीका कारण माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२ दशमलव १ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ ।

jutta mela


सो आयोजना गत वर्ष पनि बाढीबाट प्रभावित भएको थियो । हाल उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । पाँचथर पावरद्वारा प्रवद्र्धित १४ दशमलव ९ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजाको विद्युत् उत्पादन पनि बन्द भएको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा आयोजना पुनः क्षतिग्रस्त भएको हो ।

साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको बाँधस्थलमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द छ । सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाट क्षमताको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँधलगायतका संरचनामा क्षति पुगेको छ । इप्पानका अनुसार सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित ९ दशमलव ६ मेगावाट क्षमताको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेको छ ।

फेमे खोला जलविद्युत आयोजना सिउरीखोला पनि बाढीले क्षति पु¥याउँदा विद्युत् उत्पादन बन्द भएको जनाइएको छ । कूल ४० मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्ग र सुरक्षा पर्खालमा बाढीका कारण क्षति पुगेको छ । इलेप खोला तातोपानी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति गरेको छ भने कोरियन लगानी रहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एकको क्याम्प हाउस र पहुँचमार्गमा क्षति भएको छ ।

निर्माण सामग्री राखिएको ३ वटा कन्टेनर बगाएको छ । हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको छ भने पहुँचमार्गमा क्षति भएको छ । यस्तै, बाढीका कारण प्रसारणलाइनको टावर ढलेका छन् भने पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ । सभाखोला बी जलविद्युत् आयोजनाको पहुँचमार्गमा पहिरोका कारण समस्या उत्पन्न भएको छ ।

यसैगरी पावरहाउस पुरिएको र बाँधमा क्षति हुन गएको छ । इप्पानका अनुसार सभाखोला सी जलविद्युत् आयोजना पहुँचमार्गमा क्षति पुगेको छ भने लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पनि सडक पूर्वाधार बगाएको छ । बाढीले सुपर त्रिशूली जलविद्युत् आयोजनाको निर्माण उपकरण बगाएको छ । कूल १ सय मेगावाट क्षमताको सो आयोजना निर्माणको क्रममा छ ।

आयोजनाको दुई वटा वटा स्काभेटर लोडर र तीन वटा ट्रिपर बगाएको छ । त्यस्तै, बेलीब्रिज बगाएको, खन्ने क्रममा रहेको पावर हाउस पुरिएको इप्पानले जनाएको छ । बाढीका कारण प्रभावित आयोजनाबाट विद्युत् उत्पादन बन्द हुँदा त्यसको चाप प्राधिकरणको प्रणालीमा परेको छ । सोही कारण शनिबार मात्रै प्राधिकरणले भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्नुपरेको थियो । रासस

You might also like

Comments are closed.