पोखराको बाँझापाटनमा असोज २५ गते कालरात्री फेस्टिभल हुँदै

पोखरा । बडादशैको अवसरमा पोखरामा कालरात्री फेस्टिभल हुने भएको छ । पोखरा १३, बाँझापाटनमा रहेको सत्ययुवा सेवा समितिले आउँदो असोज २५ गते १९ औं संस्करणको ‘कालरात्री म्युजिकल फेस्टिभल–२०८१’ आयोजना गर्ने भएको हो ।

सत्ययुवा सेवा समितिका अध्यक्ष हितमान गुरुङ अनुसार कालरात्री म्युजिक फेस्टिभलमा पूर्ण राई एण्ड दाजुभाइहरु, दी ड्रिमेज ब्याण्ड, नेपाल आइडलको अन्तिम ५ मा पुगेका मानव परियार, रोहनजंग कार्कीलगायतको प्रस्तुति रहनेछ ।

गीत–संगीतमार्फत् मनोरञ्जन प्रदान गर्नुका साथै युवालाई रचनात्मक कार्यमा लगाउने उद्देश्यले कालरात्री म्युजिक फेस्टिभल आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।

‘कालरात्री म्युजिक फेस्टिभल परम्पराको निरन्तता पनि हो, युवालाई एकै ठाउँमा भेला गराउने अवसर पनि हो’ अध्यक्ष गुरुङले भने, ‘बाँझापाटनमै हुने कार्यक्रमको अनलाइन टिकट बुकिङ सुरु भइसकेको छ ।’


टिकट दर ५ सय र १ हजार कायम गरिएको छ । फेस्टिभल आयोजना गर्न विभिन्न व्यापारिक प्रतिष्ठान एवं संघसंस्थाको सहयोग रहेको छ । सबैजसो तयारी पनि तीव्र गतिमा अगडि बढिरहेको छ । सो कार्यक्रमको सञ्चालन आयुष श्रेष्ठले गर्नेछन् ।

You might also like

Comments are closed.