सिद्धार्थ माविमा चित्रकला प्रतियोगिता सम्पन्न

पोखरा । लायन्स क्लब अफ पोखरा पिस सोसाइटीले फेदीखोला गाउँपालिका वडा नं. २ स्थित सिद्धार्थ माविमा चित्रकला (पिस पोस्टर) प्रतियोगिता सम्पन्न गरेको छ ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्र्तगत रहेको यस क्लबले लायन्स इन्टरनेशनलको लायन वर्ष २०२४/२५ को लागि निर्धारण गरेको ‘पिस विथआउट लिमिट’ को आधारमा रही गरिएको प्रतियोगितामा गाउँपालिकाभित्रका १६ विद्यालयका १७ जना विद्यार्थी बीच प्रतियोगिता सम्पन्न गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि फेदीखोला गाउँपालिकाकी उपाध्यक्ष देउकुमारी गुरुङले उद्घाटन गर्दै पिस पोस्टर कार्यक्रमले विद्यार्थीहरुमा पढाईको साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीको भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै कार्यक्रम सफलताको कामना गरिन् ।

कार्यक्रममा डिस्ट्रिक्ट पिस पोस्टर चिफ कमल बहादुर बस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर कार्की, रिजन चियर पर्सन सवि शेरचन, जोन चियर पर्सन कुशराज तिमिल्सिना, चित्रकारलाल कार्की अन्जान लगाएतले आफ्ना भनाई राखेका छन् ।

प्रतियोगितामा लिटिल फ्लावर इङ्लिस वोर्डिङ स्कुलकी छात्रा क्लेक्स थापा प्रथम, सिद्धार्थ माविका छात्रा स्नेहा थापा दोश्रो र देउराली आविका छात्र सिजन थापा तृत्तीय भएको क्लब प्रशासनिक प्रमुख विमल खड्काले बताए ।

प्रतियोगितामा प्रथम, दोश्रो र तृत्तीय हुनेलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कारका साथ प्रमाणपत्र, चित्रकला सामाग्री, खादाले सम्मान गरिएको छ भने सहभागी सबैलाई सहभागिताको प्रमाण पत्र तथा चित्रकला सामाग्री प्रदान गरिएको बताइएको छ ।

१३ वर्ष मुनिका विद्यार्थीका बीच मात्र प्रतिस्पर्धा हुने यस प्रतियोगितामा प्रथम भएकी छात्रा अन्तर्राष्ट्रिय प्रतियोगिता छनौटको लागि योग्य भएको क्लबका निर्वतमान अध्यक्ष सुर्यप्रसाद घिमिरेले जानकारी दिए । प्रतियोगितामा निर्णायक डिस्ट्रिक्ट पिस पोस्टर चिफ कमल बहादुर वस्नेत, चित्रकार लाल कार्की अन्जान र गाउँपालिका खेलकुद तथा शिक्षा विभाग प्रमुख विष्णुमाया पौडेल रहेका थिए ।

लायन्स क्लब अफ पोखरा पिस सोसाइटीका अध्यक्ष नरेन्द्रकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा उद्धेश्यबारे कार्यक्रम संयोजक क्लबका पूर्व अध्यक्ष लोकबहादुर कुँवर र सञ्चालन उपाध्यक्ष बासु पौडेलले गरेका हुन् ।

You might also like

Comments are closed.