क्यान महासंघका अध्यक्ष रणजितकुमार पोदार विट्साको कोषाध्यक्षमा निर्वाचित

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष रणजित कुमार पोदार वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एण्ड सर्भिसेज एलायन्स (विट्सा–WITSA)को कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

गत शुक्रबार आर्मेनियाको येरेभानमा भएको विट्साको महाधिवेशनबाट पोदार सन् २०२४–२६ कार्यकालको निम्ति कोषाध्यक्षमा निर्विरोध चयन भएका हुन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लामो अनुभव सँगालेका पोदारले २०७९ पुसदेखि क्यान महासंघको नेतृत्व गर्दै आएका छन् ।

विट्सामा कोषाध्यक्ष पदमा निर्वाचित भएपछि पोदारले भने, “विट्साको प्रतिनिधित्व गर्दा विश्वभरिका ८० भन्दा बढी सूचना प्रविधि संस्थाहरूसँग सहकार्य गरेर प्रविधिको विकासमा योगदान दिने अवसर पाएको छु । सूचना प्रविधि क्षेत्रमा नेपाललाई विश्वव्यापी मञ्चमा स्थापित गर्ने प्रयास गर्नेछु ।” यसलाई आफूले क्यान महासंघको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो उपस्थिति र भूमिकाको स्पष्ट प्रमाणका रूपमा हेरेको पोदारले बताए ।

jutta mela

विट्सा ८० देशका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थाको छाता संगठन हो, जसले विश्वव्यापी सूचना प्रविधि उद्योगमा हुने आर्थिक कारोबारको ९० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्छ । यस संस्थाले विश्वभरका नयाँ प्रविधिको अनुसन्धान, विकास र नवीनतम प्रयोगलाई अघि बढाउने काम गर्दछ ।

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले पोदारको सफल नेतृत्वले क्यान महासंघलाई विश्वव्यापी स्तरमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए । “विट्सामा उहाँको प्रतिनिधित्वले नेपालमा प्रविधिको पहुँच र डिजिटल अर्थतन्त्रलाई थप सबल बनाउने हाम्रो प्रयासमा सहयोग पुर्याउनेछ,“ उनले भने ।


विट्साको नवगठित २० सदस्यीय समितिमा विश्वका पाँच महादेशबाट प्रतिनिधिहरू छन्, जसमा मलेसिया, ब्राजिल, नेपाल, दक्षिण अफ्रिका, बंगलादेश, जापान लगायतका देशका सूचना प्रविधि विशेषज्ञहरू रहेका छन् ।

विट्सामा यसअघि दुई पटकसम्म क्यान महासंघका पूर्वअध्यक्ष हेमन्त चौरासियाले कोषाध्यक्षका रूपमा सफल कार्यकाल निभाएका थिए ।

You might also like

Comments are closed.